Breaking News
कोरोनाले खोसेको तमू ल्होसार रौनक, चितवनका गुम्बामा न्यून दर्शनार्थी (फोटोफिचर)

–हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुस १५–
आज तमू ल्होसार पर्व अर्थात पुसे पन्ध्र हो । विगतका वर्षहरुमा आजको दिन गुम्बाहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दथ्यो । भरतपुर–२ तीनखोलेमा रहेको महाबौद्ध गुम्बामा पनि विगतका वर्षमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुन्थे । खेलकुद, हाजिरीजवाफलगायतका प्रतियोगिता पनि हुने गर्दथ्यो । गुरुङ्ग पोशाकमा सजिएर थुप्रै दर्शनार्थीहरु गुम्बामा पुग्थे । पूजाआजा र नाचगान गर्दथे । दर्शनार्थीहरुको घुईंचो लाग्थ्यो । मेला लाग्थ्यो । पुसे पन्ध्रको एउटा छुट्टै रौनक देखिन्थ्यो । पत्रकारलाई तस्विर खिच्न अगाडि जानका लागि खचाखच भिडले गर्दा गाह्रो पर्दथ्यो ।

तर आज (बुधबार) गुम्बामा फाट्टफुट्टमात्र दर्शनार्थी देखिएका थिए । यसवर्ष गुम्बामा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । गुम्बामा पूजापाठ, होमशान्ती र ग्रह शान्तीमात्र गरिएको बौद्ध धर्म सेवा समिति तीनखोलेकी अध्यक्ष विमला गुरुङ्ले जानकारी दिइन् । गतवर्ष भन्दा करिव ८० प्रतिशत कम दर्शनार्थी गुम्बामा आएको उनले बताइन् । जिल्लाका अरु गुम्बाको अवस्था पनि यस्तै रहेको खबर आएको उनले जनाइन् ।
तीनखोले गुम्बा चितवनकै ठूलो गुम्बामा पर्दछ । यस गुम्बामा विगतका वर्षमा जिल्लाभरीबाट दर्शनार्थीहरु आउँथे । यसवर्ष भने स्थानीय दर्शनार्थीमात्र आएको अध्यक्ष गुरुङ्ले बताइन् ।

कोरोना भाइरस (कोभिड–१९) को डरले दर्शनार्थीहरु गुम्बा नआएको हुन सक्ने उनको भनाइ छ । यस्तै साँस्कृतिक कार्यक्रम पनि आयोजना नगरिएकाले मानिसहरुले स्थानीय गुम्बा र घरमै पूजाआजा गरी पुसे पन्ध्र मनाएको उनले बताइन् ।
‘अरुले जेजे गरे पनि । राजनीतिका लागि सडकमा मानिसहरु थुप्रिए पनि, विभिन्न कार्यक्रम गरी भिडभाड भइरहेको भए पनि, हामी बौद्ध धर्मवालम्बीहरुले कोरानाबाट बँच्न कुनै कार्यक्रम गरेनौं’ उनले भनिन्, ‘हामीले आफू पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने मान्यतालाई पालना आत्मसाथ ग¥यौं ।’





























