राजनीति
पार्टी एकता गर्नेबेला ओलीले ‘२० महिनामा मर्छु’ भनेका थिएः सुरेन्द्र पाण्डे

पोखरा,पुस १४-
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले २० महिनामा मर्छु भनेर पार्टी एकता गरेको नेता सुरेन्द्र पाण्डेले बताएका छन्। पार्टी एकता गर्ने कुरा भए पनि हुन्छ कि हुँदैन भन्ने द्विविधा भएको अवस्थामा ओलीले प्रचण्डलाई भेटेर आफू १८–२० महिनामै मर्ने बताएको पाण्डेले दाबी गरे। ‘मलाई त डाक्टरले १८ महिनादेखि २० महिनामा मर्छ भनेको छ, म मर्ने नै हो, बाँच्ने नै होइन’, ओलीको भनाइ उदृत गर्दै पाण्डेले भने, ‘हदै भए २२ महिना बाँचुला, पार्टी कल्लाई जिम्मा लाउने भनेर छटपटाएको बेला तपाईंजस्तो नेता पाए, तपाईंलाई नेता पाएर बल्ल ढुक्क भए।’
त्यतिबेला ओलीले तत्कालीन एमालेमा पार्टीको जिम्मा लगाउने व्यक्ति नै नभएको बताएको पाण्डेले बताए। ‘पार्टीको जिम्मा लिने कोही देखिन अरू भनेर ओलीले भनेपछि प्रचण्ड जीलाई पनि ढुक्क भयो’, पाण्डेले भने, ‘त्यसखालको कुरा गरेर पार्टी एकता घोषणा गरिएको थियो।’ प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरूद्ध पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पाण्डेले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री ओली अनेक प्रपञ्च र छलछाम गरिरहेको भन्दै पाण्डेले प्रधानमन्त्री छलछाम गर्न सिपालु भएको आरोप लगाए। प्रधानमन्त्री ओलीले संसद विघटन लगायतका काम सेटिङमा मिलाएको भन्दै उनले खबरदारी गरे।

























