Breaking News

चितवनका चलचित्र हलहरु खोल्ने तयारी गरिँदै, देखाउने नयाँ चलचित्रको भने अभाव

Banner

चितवन, पुस ११-

चितवनका चलचित्र हलहरु खोल्ने तयारी गरिँदै छ ।

कोरोनाको कारणले गत चैतको पहिलो हप्तादेखि बन्द भएका हलहरु शनिबारबाट काठमाडौँका हलहरु खुलेसँगै खोल्ने मनस्थितिमा पुगेका हुन् । चितवनका पाँच हलसहित देशभर १९३ चलचित्र हल रहेका छन् ।

नेपाल चलचित्र संघले स्वघोषणा गर्दै आजदेखि हल खोलेको हो । नारायणगढको ईन्द्रदेव चलचित्र भवनका व्यवस्थापक हरि रेग्मीले हल खोल्ने तयारी भए पनि पदर्शन गर्ने नयाँ चलचित्र नहुँदा समस्या भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘सेन्टिभाइरस र आमा चलिरहेको बेला लकडाउनको पहिलो चरणमा नै हल बन्द भएका हुन् । त्यसपछि नयाँ चलचित्र बजारमा आएको छैन ।’ उनले हलको सामान्य सरसफाइको काम मात्र भइरहेको र नयाँ चलचित्र आउने बित्तिकै हल सुचारु हुने बताए । सरकारले भने अहिलेसम्म हल सञ्चानलको अनुमति दिएको छैन।

जलमा हलका ड्युटी अफिसर भानुभक्त रिमालले अबको एक दुई दिनमा चलचित्र भवन सुचारु हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हल सुचारु भए पनि देखाउने चलचित्रको भने अभाव छ । हिन्दी र नेपालीमा कुनै पनि चलचित्र प्रदर्शन नभएको उनले बताए । कोरोनाको कारणले बन्द भएका सिनेमा हलमा अहिले मर्मत् सम्भार र सरसफाइको काम भइरहेको नारायणी अनलाइनलाई बताए ।
देशभरका १९३ हलमध्ये अधिकांश हल खुलेको संघका महासचिव अशोक शर्माले जानकारी दिए । ‘केही हलहरूमा प्राविधिक कारणले आजबाट सिनेमा प्रदर्शनमा आउन सकेनन् । अरू अधिकांश हल खुलेका छन्। पहिलो दिन भएकाले दर्शक कम भए पनि विस्तारै आउनेछन्’ उनले भने ।

सरकारले अनुमति नदिँदा पनि हल खोल्ने आफूहरूको रहर नभएर बाध्यता भएको उनको भनाइ छ । ‘हामीले सरकारलाई काउन्टर दिन पनि खोजेका हैनौं। सरकारले आफ्नो कुरा सुन्दै नसुनेपछि बाध्य भएर समस्या बाहिर ल्याएका हौं,’ उनले भने।

कोरोना भाइरस फैलनसक्ने अधिकांश क्षेत्र खुल्दा पनि सिनेमा क्षेत्र किन नखोलेको भन्नेमा सरकारसँँग कुनै जवाफ नरहेको उनको भनाइ छ। सिनेमा हेर्ने दर्शकहरूको स्वास्थ्य सुरक्षा आफूहरूको पहिलो प्राथमिकता भएको भन्दै उनले भने, ‘यो विषयमा सरकारभन्दा बढी हामीलाई चिन्ता हुन्छ । यदि दर्शक बिरामी पर्नुभयो भने त्यसको प्रत्यक्ष असर हामीलाई पर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>