शिक्षा

विद्यार्थीले सिकेको ज्ञान प्रयोग गर्न राज्यले आवश्यक वातावरण सिर्जना गरिदिन्छ: प्रधानमन्त्री ओली

Banner

काठमाडौँ, पुस ६

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्छ भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ । यसका लागि उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै जानुपर्छ ।” उहाँले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको उल्लेख गर्नुभयो । “विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण सिर्जना गरिदिन्छ” उहाँले भन्नुभयो, “आर्थिक हैसियत भएकाको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने म ठान्दछु ।”

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहेको भएकाले आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिकालाई अझ बढाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको एउटा चुनौती हो ।’’ सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको टड्कारो आवश्यकता भएको उहाँले बताउनुभयो । राजनीतिक सन्दर्भमा प्रधानमन्त्री ओलीले अशान्तिपूर्ण गतिविधिहरू किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलमलाउन नखोज्न सम्बद्घ सबैको ध्यानाकर्षण गराउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>