क्रिकेट
पारस खड्का टीम अबुधाबीको मेन्टरमा नियुक्त

काठमाडौं, पुस ४–
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर, पूर्व कप्तान पारस खड्का टी–१० लिगमा टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त भएका छन् ।
टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो ।
अब हुने टी–१० लिगका लागि पारसले मेन्टरको भूमिका खेल्नेछन् । उनी टिमको कोचिङ स्टाफको रुपमा रहने अबुधाबीले जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए ।
पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।
मेन्टरमा नियुक्त भएपछि पारस खड्का आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्–‘टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु । आशा छ, क्रिकेटिङ टाईअपबाट अन्तर्राष्ट्रिय लेभलमा नेपाली क्रिकेट विकास गर्न सकिन्छ । र टीम अबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ ।’
चौथो संस्करणको टी–१० लिग युएईमा आगामी वर्ष जनवरी २६ देखि फेब्रुअरी ६ सम्म हुनेछ । अबुधाबीले अहिलेसम्म रोहन मुस्ताफा, लुक राइट, अभिस्का फर्नान्डो र हाएडेन वाल्स जुनियरलाई टिममा रिटेन गरेको छ ।
























