राजनीति

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन: अर्थमन्त्री पौडेल

Banner

काठमाडौँ, पुस ३-

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनुभयो । “भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ”, उहाँले भन्नुभयो, “भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ ।”

उहाँले विश्व बजारमा सहजरुपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो ।

उहाँले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागि परेको जनाउनुभयो । “अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ”, उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>