देश/प्रदेश

नवलपरासीमा सुरक्षित आप्रवासन परियोजना प्रभावकारी

Banner

परासी, मङ्सिर २९-

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा प्रभावकारी बन्दै गएको छ ।

जिल्लाका छ स्थानीय तहको नेतृत्वमा परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका छन् । परियोजनाका कारण लक्षित वर्गले सही सूचना पाउन थालेका छन् भने कामदार तथा परिवारको आर्थिक सामाजिक सुदृढीकरण एवं सीप र उद्यमशीलतामा पहुँच बढेको परियोजनाका जिल्ला संयोजक ज्ञानेश्वर भण्डारीले राससलाई जानकारी दिनुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ ।

तेस्रो चरणमा सञ्चालन भइरहेको यो परियोजना पश्चिम नवलपरासीको रामग्राम, बर्दघाट, सुनवल नगरपालिका तथा पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिका गरी छ स्थानीय तहमा विस्तार गरिएको छ । परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय परासी नजिकै आप्रवासी स्रोत केन्द्र र इलाका प्रशासन कार्यालय सेमरी नजिकै आप्रवारी उपस्रोत केन्द्र सञ्चालनमा रहेको छ ।

परियोजनाले विशेषगरी राहदानी बनाउन आउने व्यक्तिलाई सकेसम्म वैदेशिक रोजगारीमा नजान र जानै परे सीप सिकेर मात्र जान प्रेरित गर्दै आवश्यक सूचना, परामर्श र सीप दिँदै आएको संयोजक भण्डारीले बताउनुभयो ।

“परियोजना सञ्चालनपछि अहिलेसम्म चार हजार ११७ जनालाई हामीले सूचना र परामर्श सेवा दिएका छौँ, विदेशबाट फर्केर आएका १६ स्वयंसेवक परिचालन गरेर व्यक्तिगत तथा समूह भेटघाट एवं परिवारका सदस्यसँगसमेत भेटघाट गरी सूचना तथा परामर्श प्रदान गरिएको छ”, उहाँले भन्नुभयो ।

सही सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिलाई मध्यनजर गर्दै परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सघाउ पु¥याइरहेको छ । “म्यानपावर र एजेन्टको मात्र विश्वास गर्दा देश बाहिर र भित्र पनि वैदेशिक रोजगारीका नाममा ठगी, शोषणमा पर्ने समस्या बढीरहेका सन्दर्भमा परियोजना सञ्चालनपछि सही सूचना लिएर मात्र वैदेशिक रोजगारीमा जानेक्रम बढेको छ”, उहाँले बताउनुभयो ।

परियोजना संयोजक भण्डारीका अनुसार परियोजनाले वैदेशिक रोजगारीसँग सम्बन्धित ३६८ जनाको मुद्दामा सहजीकरण गरेको छ । त्यसमध्ये १२४ जनाको मुद्दा समाधान भएका छन् भने सहजीकरणबाट कामदार र परिवारले १६ लाख रुपैयाँ आर्थिक सहायता तथा क्षतिपूर्ति प्राप्त गर्न सफल भएका छन् । वैदेशिक रोजगारीका कारण तनावमा रहेका परिवारका ५२ व्यक्तिलाई व्यक्तिगत मनोसामाजिक सेवा प्रदान गरिएको जनाइएको छ ।

विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेका सन्दर्भलाई मध्यनजर गर्दै उक्त रकमलाई सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रेरित गर्न परियोजनाले विप्रेषण प्राप्त गर्ने परिवारका सदस्यका लागि १६ स्थानमा समूह गठन गरी वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा पनि सञ्चालन गरिरहेको छ ।

कोभिड– १९ का कारण भएको बन्दाबन्दीका समयमा परियोजनाले सेवा प्रवाह गरेको थियो । उक्त अवधिमा टेलिफोनमार्फत ४१२ जनालाई प्राथमिक मनोवैज्ञानिक सेवा प्रदान गरिएको परियोजनाका मनोपरामर्शदाता सुमित्रा चौधरीले जानकारी दिनुभयो । सत्ताइस वटा क्वारेन्टिन तथा आइसोलेशन सेन्टरमा मनोवैज्ञानिक प्राथमिक सहयोग कक्षा सञ्चालन गरिएको थियो ।

सुरक्षित वैदेशिक रोजगारका बारेमा जनचेतनाको कमी, गन्तव्य मुलुकमा गर्नुपर्ने कामको उचित सीप नहुनु, ठगी तथा अलपत्र पर्नु, कानूनी सहायताका लागि आवश्यक प्रमाण नहुनु, गनतव्य मुलुकको हावापानी, रहनसहन र संस्कृतिबारे ज्ञान नहुनु, भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने प्रवृत्तिलगायत कारणले वैदेशिक रोजगारको क्षेत्र चुनौतीपूर्ण छ । परियोजनाले वैदेशिक रोजगारीका क्रममा हुनसक्ने ठगी तथा शोषणबाट बचाउन सही सूचना दिने, अदक्ष कामदारलाई सीप लिन प्रेरित गर्ने र सीप लिन चाहनेलाई एक महीनाको निःशुल्क सीप तालीम प्रदान गर्ने, गन्तव्य मुलुकमा हुने शोषणविरुद्ध निःशुल्क कानूनी सहायता प्रदान गर्ने, मनोसामाजिक परामर्श सेवा दिने, वित्तीय साक्षरता प्रदान गर्नेलगायत सेवा प्रवाह गर्दै आएको सेवा प्रदायक संस्था इन्दे्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्रीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका कारण गरिबी न्यूनीकरण एवं सामाजिक जीवनस्तरमा परिवर्तन आए पनि पारिवारिक बेमेल, हिंसा, भड्किलो र खर्चिलो सामाजिक जीवन, युवा जनशक्तिको अभाव, जग्गा बाँझो छाड्ने प्रवृत्ति, आन्तरिक बसाइँसराइले ज्येष्ठ नागरिक एक्लिदो अवस्था, मानव बेचबिखन बढ्नुका साथै अनुत्पादक क्षेत्रमा खर्चमा वृद्धि जस्ता विकृत्ति बढेकाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तीनै तहका सरकारले सहकार्य गरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता बताउनुहुन्छ । सकेसम्म स्वदेशमै स्वरोजगार बन्न र विदेश जानैपर्ने भए सीप सिकेर मात्र जान उहाँले आग्रह गर्नुभयो ।

सरकारी तथ्याङ्कअनुसार नेपालबाट दैनिक एक हजार २०० सम्म युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी जानेमा अधिकांश निम्न मध्यम वर्गका २० देखि ४४ वर्ष उमेर समूहका र विद्यालय तहको मात्र शैक्षिक योग्यता भएका महिला पुरुष छन् । नेपालमा हालसम्म ५३ लाख बढीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>