समाचार
काठमाडौंको कलंकी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं,मंसिर २७-
काठमाडौंको कलंकीस्थित कालिका पेट्रोल पम्पनजिक भएको दुर्घटनामा थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । आज उपचारका क्रममा रञ्जितकुमार चौधरीको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यसअघि शनिबार बिहान दुर्घटनास्थलबाट ट्रक निकाल्ने क्रममा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेलको शव ट्रकमा च्यापिएको अवस्थामा भेटिएको थियो ।
त्यस्तै, ब्रेक फेल ट्रकले च्यापेर ओखलढुङ्गा घर भई ढुंगेअड्डा सडक पेटीमा बस्ने ३० वर्षीय शंकर परियारको घटनास्थलमै मृत्यु भएको थियो । योसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
ट्रक चालक मकवानपुर, राक्सिराङ-२ का ३९ वर्षीय मानबहादुर रखालसहित अन्य घाइते रामचन्द्र सिंखडा, विशाल श्रेष्ठ, गणेश शर्मा, सागर खत्रीको उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका हेटौँडाबाट सिमेन्ट बोकेर सुकेधारा आइरहेको प्रदेश-२ ०३-००१ ख १४२० नम्बरको आइचर ट्रकले ढुंगेअड्डानजिक अन्य ६ वटा सवारीलाई ठक्कर ठक्कर दिएको थियो ।

























