शिक्षा

चार घण्टा हिँडेर विद्यालय जानुपर्ने समस्याको अन्त्य

Banner

– सन्तोष गौतम
म्याग्दी । घर कहाँ हो ? म्याग्दी । आहा सुन्दर । म्याग्दीबारे बताउँदा जोकसैको मुखबाट यस्तै प्रतिक्रिया आउँछ । तर, यसको सुन्दरताभित्र उत्तिकै विकटता पनि छ ।

धौलागिरि गाउँपालिका–७ बगरका भुवन थापा कक्षा ८ मा पढछन् । उनलाई विद्यालयसम्म पुग्नका लागि निकै मिहिनेत गर्नुपर्छ । हरेक दिन विद्यालय आउजाउ गर्न उनलाई चार घण्टा लाग्छ । जान दुई घण्टा । फर्कन दुई घण्टा ।

बिहान ८ बजे नै पाकेको गाँस टिपेर हिड्छन्, भुवन थापा । विद्यालय पुग्दा थकान र भोक पीडित भएका उनले घर फर्किदा रात परिसकेको हुन्छ । किताव खोल्न नपाई निदाउँछन् ।

थापा त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाकै विकटमध्येको एक धौलागिरि गाउँपालिका–७ बगरका बालबालिका गाउँमा विद्यालय नभएपछि दैनिक चार घण्टा हिडेर धारापानीको किसानी माध्यमिक विद्यालय जान बाध्य छन् ।

थापा अहिले धौलागिरि गाउँपालिकाले शिवाङको हेम माविमा सञ्चालन गरेको नमूना आवासीय माविको छात्रावासमा बस्न थालेका छन् । छात्रावासमा बस्न थालेपछि एक मिनेटमै कक्षा कोठामा पुग्न पाउँदा उनी दङ्ग छन् । “आठ बजेनै खाना खाएर स्कूल पुग्दा भोक लाग्थ्यो”, उहाँले भन्नुभयो, “साँझ ६ः३० बजे घर आउँदा थकाइ लागेर गृहकार्य गर्न सकिँदैनथ्यो । होस्टेलमा बस्न थालेपछि सजिलो भएको छ । गृहकार्य गर्न र पढ्न पाएको छु ।” आवासीय विद्यालय सञ्चालन भएपछि थापाजस्तै विकट क्षेत्रका विपन्न बालबालिकालाई आधारभूतस्तरको शिक्षा हासिल गर्न सहज भएको छ ।

सरकारी विद्यालयमा आवासीय सुविधा भएपछि दैनिक तीन÷चार घण्टा दुःख कष्टका साथ भिर, जङ्गल र खोलाको बाटो पैदल हिँडेर जङ्गली जनावरलाई छलेर स्कूल जानुपर्ने समस्या हटेको छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्ने क्रम घटेको छ । हाल कक्षा १ देखि १० सम्म अध्ययन गर्ने २२ जना बालबालिकाले आवासीय सुविधा पाएका छन् । पालिकाभर आवासीय विद्यालयमा राख्नुपर्ने ७६ जना विद्यार्थी पहिचान भएका छन् । उनीहरु सबैलाई आवासीयमा भर्ना गर्ने तयारी छ ।

धौलागिरि गाउँपालिका र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको साझेदारीमा चालु शैक्षिक सत्रदेखि सञ्चालन भएको आवासीय विद्यालयमा गरिब, अभिभावक अपाङ्गता भएका, अनाथ र नजिक विद्यालय नभएका कारण शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो ।

विकट र थोरै घरधुरीको बसोबास भएको बस्तीका बालबालिका आधारभूतस्तरको शिक्षा हासिल गर्नका लागि दैनिक दुई तीन घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने, पढ्नका लागि डेरा र आफन्तकहाँ बस्नुपर्ने समस्या अन्त्यका लागि आवासीय विद्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

“एउटा बस्तीबाट अर्को बस्तीमा पुग्न दुई तीन घण्टा हिँड्नुपर्ने छ । थोरै घरधुरी भएको त्यस्ता गाउँमा विद्यालय सञ्चालन गर्न विद्यार्थी पुग्दैनन् । नजिक विद्यालय नभएकाले धेरै बालबालिकाले पढ्न नपाउने अवस्था छ”, उहाँले भन्नुभयो, “विकटका साथै अभिभावक अपाङ्गता भएका, अभिभावक नभएका र अरुको घरमा बसेका बालबालिकालाई पनि शिक्षाको पहुँचमा ल्याउन प्रदेश सरकारले अघि सारेको अवधारणाअनुसार आवासीय विद्यालय शुरु गरेका हौँ ।”

आवासीय विद्यालय सञ्चालन व्यवस्थापनका लागि गत आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले १५ लाख ९७ हजार र सामाजिक विकास मन्त्रालयले रु दुई लाख ८० हजार सहयोग गरेका हेम माविका प्रअ शेरबहादुर केसीले बताउनुभयो । “तत्कालाई पुरानो छात्रावास भवनमा फर्निचर र लत्ताकपडाको व्यवस्थापन गरेर विद्यार्थीलाई राखिएको छ”, उहाँले भन्नुभयो “गाउँपालिकाको सहयोगमा होस्टेल बस्ने विद्यार्थीलाई खाना, खाजा, पोशाक, शैक्षिक सामग्रीको निःशुल्क व्यवस्था गरेका छौँ ।” उहाँका अनुसार छात्रावासका एक जना वार्डेनसहित तीन जना कर्मचारीको तलब गाउँपालिकाले उपलब्ध गराएको छ ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा आवासीय विद्यालयको छात्रावासलाई व्यवस्थित वनाउन झिनडाँडामा रु एक करोड एक लाख ९० हजारको लागतमा १० कोठे पक्की छात्रावास भवन निर्माणाधीन छ । गत वर्ष ठेक्का लागेर कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएको भवनलाई यसपालि पूर्णता दिन लागिएको गाउँपालिकाका इञ्जिनीयर सोविन जिसीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा आवासीय विद्यालयलाई प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाले रु १० लाख विनियोजन गरेका छन् । न्यून विद्यार्थी सङ्ख्या भएका विद्यालय समायोजन गरी त्यहाँका विद्यार्थीलाई पनि आवासीय विद्यालयमा भर्ना गरेर माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने नीति लिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “आवासीय विद्यालयलाई प्रभावकारीरुपमा व्यवस्थित र निरन्तर सञ्चालनका लागि दीर्घकालीन योजना बनाउन आवश्यक ठानेका छौँ”, उहाँले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>