चितवन विशेष

भरतपुरको नारायणपुरमा वडा कार्यालय भवनको शिलान्यास

Banner

चितवन, मंसिर १५-

भरतपुर महानगरपालिका–५ को नारायणपुरमा बन्ने वडा कार्यालय भवनको आज शिलान्यास भएको छ ।

महानगर प्रमुख रेनु दाहालले सो वडा कार्यालय भवनको शिलान्यास गरेकी हुन् । कार्यक्रममा प्रमुख दाहालले गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन् ।

प्रमुख दाहालले महानगरका गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, हुलाकी मार्गको स्तरोन्नति, रिङरोड, लिंकरोडलगायतका काम धमाधम अगाडि बढिरहेको बताउँदै वडा कार्यालयहरु वडाबासीकै आवश्यकता र सुझावका आधारमा निर्माण सुरु गरिएको जानकारी दिइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरपालिकाले व्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तीव्रता दिएको बताए । उनले महानगरका अधिकांश वडा कार्यालयहरु निर्माण सम्पन्नको चरणमा रहेको भन्दै यो वडा कार्यालय पनि समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा प्रवक्ता अरूणपीडित भण्डारी, वडा नम्बर ६ का अध्यक्ष हरिबिलास कोइराला र वडा नम्बर ४ का अध्यक्ष हरि आचार्यले समयमै भवन निर्माण गरी नयाँ भवनबाट सेवा शुभारम्भ गर्न शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका वडा अध्यक्ष हरिशरण पौडेलले अव्यवस्थित रुपमा सञ्चालन भएको वडा कार्यालयलाई व्यवस्थित भवन बनाएर वडावासीलाई सेवा पु¥याउने विश्वास व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गरेर भाडाको घरमा सञ्चालनमा रहेको वडा कार्यालयलाई सुविधासम्पन्न भवनमा सार्न निर्माण कार्यलाई गतिका साथ अगाडि बढाउन आग्रह गरे ।

नेपाली कांग्रेस वडा नम्बर ५ का बुथ सहसंयोजक युवराज भुसालले सुविधासम्पन्न वडा कार्यालय भवन बन्न लागेकोमा खुसी ब्यक्त गर्दै भवन समयमै सम्पन्न हुनुपर्ने बताए । नेपाली कांग्रेस वडा पार्टीले यस स्थानमा वडा कार्यालयमा निर्माण गर्ने विषयमा कुनै संस्थागत विरोध नरहेको भन्दै तोकिएकै समयमा भवन निर्माण हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका वडा सदस्य दामोदर सुवेदीले लामो छलफलपछि वडा नम्बर ५ ले उपयुक्त स्थानमा सुविधासम्पन्न वडा कार्यालय पाएको भन्दै तोकिएकै समयमा गुणस्तरमा कुनै सम्झौता नगरी अगाडि बढाउन आग्रह गरे ।

एक करोड ८७ लाखको लागतमा निर्माण हुन लागेको अन्डरग्राउन्ड पार्किङसहित ३ तलासम्म निर्माण हुने वडा कार्यालय भवनमा १० वटा कोठा रहने छन् । एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कस्मिक कन्स्ट्रक्सनले जिम्मा लिएको छ । भरतपुर महानगरपालिकाले विद्यालय, वडा कार्यालय र स्वास्थ्य भवन गरी बितेको तीन वर्षमा १६६ वटा भवनहरु निर्माण गरेको छ ।

कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष पदमपाणि सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सुवेदीले वडावासीहरुको सामूहिक प्रयासमा अत्याधुनिक वडा कार्यालयको शिलान्यास गर्न सफल भएको बताउँदै तोकिएको समय सीमाभित्र गुणस्तरीय भवन निर्माण गर्न आफू लाग्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>