Breaking News
भारतीय विदेशसचिव श्रृंगला काठमाडौँ आइपुगे, यस्तो छ दुई दिनको कार्यव्यस्तता

काठमाडौं, मंसिर ११-
भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन् ।
कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए।
दुई दिनको कार्यव्यस्तता :
काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामा बस्छन् । मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ । पौडेलले आयोजना गरेको दिवाभोजमा होटल याक एण्ड यतिमा उनी सहभागी हुनेछन् ।
त्यसपछि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरी दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवासमै गएर भेट्न छन् । त्यस लगतै शीतल निवासमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार साँझमा केही राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक कार्यक्रमको औपचारिक तयारी नरहेपनि उनले नेकपाका अध्यक्ष प्रचण्ड, नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका नेतालाई पनि भेट्ने तयारी गरेका छन् । ती नेताहरुलाई भेट्न उनकै निवासमा जाने अहिलेसम्मको तयारी रहेको स्रोतले जनाएको छ ।
शुक्रवार विहान पनि सामान्य भेटघाटको कार्यक्रम राखिएको छ । त्यसपछि गोरखा जिल्लामा भारतको सहयोगमा निर्माण भएको एक विद्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस लगतै सोल्टी होटलमा १०ः३० बजेदेखि आयोजित एक कार्यक्रममा उनले सम्बोधन गर्नेछ । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा भारतीय विदेश सचिवले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा बोल्ने तयारी रहेको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । त्यहाँ पनि भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।
सोल्टीको कार्यक्रम सकेपछि उनी १ बजे नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।
























