Breaking News

नारायणीमा मिनी पानीजहाजः कोरोनाका कारण उद्घाटनमा अन्योल

Banner

चितवन, मंसिर ९-

सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भनिए पनि आजसम्म सञ्चालनमा आउन सकेको छैन ।

कोरोना महामारीले गर्दा उद्घाटनको दिननै जुर्न नसकेको हो । मिनी पानीजहाज सञ्चालननको तयारी गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्धक रामचन्द्र कँडेलले देशका अन्य पर्यटकीय क्षेत्रहरु पनि सहजरुपमा खुल्न नसकेकोले मिनी पानीजहाजको पनि उद्घाटन गर्न नसकिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ क्रुजशिप निर्माणको सबै काम सकिएको छ । केही काम उद्घाटनको दिन जुरेपछि पूरा गर्ने तयारी छ ।’ अहिले पानीजहाजलाई पानी बाहिर निकालेर अन्तिम रंगरोगनको काम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटनमा आउने इच्छा व्यक्त गरेको उनले बताए । उनले भने, ‘उद्घाटन गरेपछि धमाधम अनलाइन बुकिङको काम सुरु हुन्छ ।’

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले गत वर्ष साउनमा पत्रकार सम्मेलन गरी दसैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिए पनि कहिले प्रमुख अतिथिको समय नमिल्दा त कहिले कोरोना महामारीको कारणले उद्घाटनको दिन जुर्न सकेको छैन । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि दसैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम गरेको थियो ।

भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भएको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करिब ३५ करोड रुपैयाँ बढी लागत लागेको जनाइएको छ । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ ।

क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खानानै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने जनाइएको छ । प्रत्येक क्रुजिङ करिब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ । एकपटकमा २०० जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजको भुइँतला वातावरण अनुकूलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कम्पनीले जनाएको छ । क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन पश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण थालिएको हो । क्रुजमा दुई इञ्जिन रहनेछन् । क्रुजको १ दशमलब ८ किलोमिटर प्रतिघण्टाको गति रहनेछ । क्रुज निर्माण २०७५ चैतबाट थालिएको हो ।

फोटो : श्री दवाडी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>