समाचार

जाजरकोटको छेडागाडा नगरपालिकामा १५ शैय्याको अस्पताल सञ्चालन

Banner

जाजरकोट, मङ्सिर ६-

पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैय्याको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् ।

सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरुआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए ।

सङ्घीय सरकारको एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै शुरु हुने प्रमुख महताराले जानकारी दिए ।

केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ ।

एक मेडिकल अधिकृत, दुई नर्ससहित १५ जना कार्यरत रहने छन् । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताएको छ ।

तीन सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम शुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।

१५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिए ।​​ देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ ।

पन्ध्र शैय्याको अस्पतालमा १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए । देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि २५ करोड बजेट पठाएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले निकै काम गरेको तर केही मान्छेले सो काम नदेखेको मन्त्री रावतको भनाइ छ ।

कर्णालीका अधिकांश ठाउँमा ५० शैय्याको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ । ​​

छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>