समाचार

खसीको भनेर बाख्रीको मासु बेच्नेलाई ५० हजार जरिवानासहित कारवाही

Banner

नेपालगन्ज, कात्तिक २८-

नेपालगन्जको थ्री स्टार मासु पसललाई रु ५० हजार जरीवानासहित कारवाही गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले आज बजार अनुगमनका क्रममा सो मासु पसलले बाख्राको मासु बिक्रि गरिरहेको भेटाएको थियो ।

सो मासु पसल बिना अनुमती सञ्चालन गरिएकाले बन्दसमेत गराइएको छ । पसलबाट खान अयोग्य ४४ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चार वटा बाख्र समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बजार अनुगमनका क्रममा फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्रि भएको पाइएकाले दर्ता नहुँदासम्म व्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाद्धारा आर्थिक सहयोग

नेपालगञ्जको भेरी अस्पतालमा मात्र रु २० मा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दरकाण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले आज रु ५० हजार सहयोग गरेको छ । उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ । मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई नगर प्रमुख डा धवलशम्शेर राणाले सहयोगको चेक आजै हस्तान्तरण गर्नुभयो ।

उपमहानगरपालिकाले रु २० मा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक रु ५० हजार सहयोग गर्ने निर्णय गरेअनुसार आज पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो । विपन्न व्यक्ति तथा अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्षित गरी रु २० मा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाउनुभयो ।

विद्यालय सञ्चालन गर्ने निर्णय

कोरोना सङ्क्रमणका कारण बन्द भएका बाँके नरैनापुर गाउँपालिकाअन्तर्गतका विद्यालय तिहारपछि खुल्ने भएका छन् । गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ आगामी मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ । सोही कार्यविधिका आधारमा विद्यालय सञ्चालन गरिने थारुले बताउनुभयो ।रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>