Breaking News

नारायणगढमा झिलिमिली बत्तीको व्यापार घट्यो, तिहारसम्म ग्राहक आउने आशामा व्यवसायी

Banner

चितवन, कात्तिक २६-

नारायणगढमा यो वर्षको तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम भइरहेको व्यापारीहरुले जनाएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कमी आएको हो । २८ गते शुक्रबार काग तिहार परेकोले पनि अझै केही ग्राहक आउँछन् कि भन्ने आशामा व्यवसायी रहेका छन् । नारायणगढको बजारमा विगतजस्तो तामझाम देखिएको छैन । मानिसहरुको भीड कम हुनु र मानिसहरुको किन्ने क्रय क्षमतामा हस आएकोले पनि झिलीमिली बत्तीको व्यापार घटेको व्यवसायीहरुले बताएका छन् ।

नारायणगढको शहिदचोकमा खरेल इलेक्ट्रिकलका सञ्चालक तथा विद्युत् व्यवसायी संघका केन्द्रीय निवर्तमान अध्यक्ष तेजनारायण खरेलले गत वर्ष यो समयमा ६५ करोडको झिलीमिली बत्तीलगायतका विद्युतीय सामान आयात गर्ने गरेकोमा यो वर्ष घटेर २० करोडमा झरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ एकातिर कोरोना संक्रमण दर बढ्दै गएर बजारमा मानिसको चहलपहल कम छ भने अर्काेतिर चीनतिरको नाकाबाट विगत नै महिनादेखि सामान बोकेका कन्टेनरहरु आउन पाएका छैनन् ।’ त्यसैगरी उनले भारततिरको कलकत्ता नाकाबाट पनि सामान समयमा आउन नसक्दा बजारमा सामान नै कम छ र मानिसहरुको माग पनि कम भएको बताए । भरतपुरमा भौतिक निर्माणको कामहरु पनि कम भएकोले विद्युतीय सामग्रीहरुको व्यापार घटेको उनले जानकारी दिए ।

विद्युत् व्यवसायी संघ चितवनका अध्यक्ष भरत लामिछानेले विगत वर्षको तिहार अगाडिको समय हेर्दा अहिले ७० प्रतिशतले व्यापारमा कमी आएको बताए । उनले भने, ‘ कोरोना संक्रमण बढेसँगै कतिपय नागरिकले आफन्त गुमाएकोले समाजमा खुसी छैन । मानिसहरुमा खासै तिहारको उत्साह देखिँदैन ।’ अनमोल इलेक्ट्रिकल पुलचोकका सञ्चालकसमेत रहेका अध्यक्ष लामिछानेले होलसेल व्यापारीहरुले केही परिणाममा सामान खरिद गरेको भए पनि खुद्रा सामान किन्ने ग्राहक आउनेमा भने शंका व्यक्त गरे । उनले भने, ‘आशा गरौं तिहारसम्म कोही आइहाल्छन् कि ! ’

तिहारमा मुख्य व्यापार हुने भनेकै झिलिमिली बत्ती हो जसलाई झल्लर बत्ती पनि भनिन्छ । तर, यसपटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु भने निराश भएका छन् । नारायणगढको बजारमा झल्लर बत्ती ५० रुपैयाँ देखि दुई हजार ५०० रुपैयाँसम्मको उपलब्ध छ । अधिकांश बत्तीको व्यापार चीनको बजारमा निर्भर रहेको व्यवसायीहरुले बताए ।

माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकामा अहिले विद्युतीय बत्तीमा आकर्षण बढेको देखिन्छ । देशमा लोडसेडिङको समस्या हटेको थियो तर कोरोनाको त्रासले मानिसहरु रमाइलो गर्न डराइरहेका छन् ।

फोटो : हरिप्रसाद पोखरेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>