Breaking News

कोरोनाले थलिएको चितवनको उद्योग व्यवसाय : कहिले फर्किएला पुरानै लयमा ?

Banner

चितवन, कात्तिक २५-

चितवनमा कोरोना संक्रमण बढेसँगै बन्द भएको उद्योग व्यवसाय पुरानो अवस्थामा कहिले फर्किएला भन्ने अझै अनिश्चित नै देखिएको छ ।

चैतको ११ गतेदेखि देशव्यापी लकडाउन भएको थियो भने त्यसपछि पनि स्थानीय प्रशासनले ठाउँठाउँमा निषेधाज्ञाको घोषणा गरेका थिए । जसको कारण त्यसको सबैभन्दा ठूलो असर उद्योग तथा व्यवसाय क्षेत्रमा प¥यो । चितवनका उत्पादन र सेवा क्षेत्रका सबै उद्योग र व्यवसाय बन्द भयो । अहिले कोरोना महामारीको प्रभाव परेको सात महिना बितिसक्दा पनि पुरानो अवस्थामा उद्योग तथा व्यवसाय क्षेत्र फर्कन सकेका छैनन् । सरकार र व्यवसायीले यस क्षेत्रमा पुर्नजागरण ल्याउनमा धेरै नै मेहनत गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनको उद्योग व्यवसाय क्षेत्र पहिलेको अवस्थामा फर्कन अझै एक वर्ष लाग्ने बताए । उनले नारायणी अनलाइनलाई भने, ‘ मानिसहरु बजार गएर किनमेल गर्न नै डराइरहेका छन् । बजारमा मानिसहरुको चहलपहल नै छैन ।’ उनले फेन्सी व्यवसायमा चाडपर्वको समयमा २० प्रतिशत पनि कारोबार नभएको बताए । होटल तथा पर्यटन क्षेत्रमा पनि मानिसहरुको आवागमन बढ्न नसकेको उनको विचार थियो ।

त्यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले चितवनका उद्योगहरु अहिले ६०÷७० प्रतिशत चलायमान रहको नारायणी अनलाइनलाई बताए । उनले उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ निर्यातमा झण्डै ३० दिन लाग्ने अवस्था रहेको बताए । बजारमा औद्योगिक उत्पादनको माग बढ्न नसकेकोले पनि समस्या आएको उनले बताए । नारायणगढको मेनरोडमा फर्निचर व्यवसाय गर्दै आएका नेपो फर्निचरका प्रवन्धक सूर्य कँडेलले बजारमा मानिसको आवतजावत कम भएकोले पनि व्यवसाय पुरानै अवस्थामा फर्कन नसकेको बताए । उनले भने, ‘ फर्निचर उत्पादन बिलासिताको वस्तु हो । प्राथमिक आवश्यकताको वस्तु नभएकोले पनि पहिले जस्तै बिक्री बढ्न सकेको छैन ।’

सरकारी बेवास्ता

अहिले सामाजिक सञ्जालमा सरकारले कोरोना संक्रमितको उपचार गर्नबाट पछि हट्यो भनेर टिका टिप्पणीहरु भइरहेका छन् । तर समस्या स्वास्थ्य क्षेत्रमा मात्र नभएर उद्योग व्यवसाय क्षेत्रमा पनि देखिन्छ । कोरोनाले थलिएको यस क्षेत्रलाई पुरानो अवस्थामा कसरी ल्याउने भन्ने विषयमा सरकार त्यती गम्भीर देखिँदैन । करोडौँ रुपैयाँ बैँकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु सबैभन्दा धेरै मारमा परेका छन् । सरकारको मौद्रिक नीतिले केही सम्बोधन गर्ने प्रयास गरे पनि सो नीतिको कार्यान्वयन गर्नमा बैँकहरु इन्छुक देखिएको व्यवसायीहरुको अनुभव छ ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले सरकार आफैँ लडाइँ र झगडामा व्यस्त रहेकोले पनि व्यवसायीका समस्याहरुप्रति ध्यान पुग्न नसकेको बताए । उनले भने, ‘ धेरै दबाब दिएपछि मात्र सरकारले मौद्रिक नीतिमा व्यवसायीका मागलाई सम्बोधन गर्ने प्रयास ग¥यो । यसको प्रभावकारी कार्यान्वयन बैँकहरुले गरेका छैनन् ।’ उद्योग वाणिज्य संघले बैँकका प्रवन्धकहरुलाई बोलाएर यसबारे सचेत गराएको उनले बताए ।

चितवन उद्योग संघका अध्यक्ष पौडेलले पनि सरकार छ भन्ने नै उद्योगी तथा व्यवसायीलाई अनुभव गर्न नपाएको बताए । उनले भने, ‘ अहिले राज्य चलेको छ वा छैन भन्ने नै थाहा छैन । उद्योग व्यवसाय क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनको लागि कुनै कार्यविधि वा योजना नै ल्याउन सकेको छैन ।’ अर्का फर्निचर व्यवसायी सूर्य कँडेलले पनि अहिलेसम्म व्यवसायीको लागि सरकारले कुनै पनि पहल नगरेको बताए । नेपालमा जे जस्तो कच्चा पदार्थ उत्पादन छ त्यसकै आधारमा जेनतेन उद्योग सञ्चालन गरिरहेका छौं । कोरोनाको संक्रमण दर कहिले नियन्त्रणमा आउँछ भन्ने यसै भन्न नसकिने भएकोले पनि कोरोनाले थलिएको उद्योग व्यवसाय क्षेत्रमा पुरानै अवस्थामा तत्काल फर्कने अवस्था देखिँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>