Breaking News
चितवनको सिरिन हाइवे रिसोर्ट लिलामीबाट जोगियो, प्रभु बैँकको ९ करोड व्याज चुक्ता

काठमाडौँ, कात्तिक १९-
पारिवारिक किचलोले झन्डैझन्डै लिलामी भइसकेको चितवनको कुरिनटारमा रहेको सिरिन हाइवे रिर्सोट डालिमाले कोभिडका बीचमा पनि ब्याज तिरेर ऋणलाई ‘नियमित’ गरेको छ ।
ऋण नतिरेपछि गत फागुनमा प्रभु बैंकले रिसोर्टलाई लिलामीमा राखेको थियो । लगत्तै चैतमा सरकारले लकडाउन ग¥यो । त्यसले व्यवसाय ठप्प हुनेमा सबैभन्दा बढी होटल, रेस्टुरेन्ट र रिसोर्टहरु नै परे । तैपनि कम्पनीले आफूलाई लिलामीबाट जोगाउन ऋणलाई नियमित गरेको छ।
करिब २२ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि प्रभु बैँकले होटल लिलामीमा राखेको थियो । रिसोर्टले असार मसान्तसम्मको सबै ब्याज भुक्तानी गरिसकेको छ । कोभिड प्रभावित भएकाले असोजको भुक्तानीमा समस्या देखिएको छ । रिसोर्टले फागुनदेखि असारसम्म गरेर ९ करोड भुक्तानी गरिसकेको बैंक स्रोतले जनाएको छ।
प्रभु विकास बैँकले किस्ट बैंक गाभेलगत्तै डालिमा केटर्स एण्ड रिर्सोट्स प्रालिलाई ऋण दिएको थियो । होटलले केही वर्षसम्म नियमित ऋण तिरेको थियो । तर गत वर्षदेखि ऋण तिर्न बन्द गरेको थियो। ऋण भुक्तानी नगरेपछि प्रभुले फागुन २२ गते लिलामीमा चढाउने सार्वजनिक सूचना जारी गरेको थियो ।
कुरिनटारको पृथ्वी राजमार्गसँगै जोडिएको यो होटल केही वर्ष अघिमात्रै कृष्णबहादुर कुँवरले किन्नु भएको हो । कुँवर हस्पिटालिटी क्षेत्रमा परिचित व्यक्ति हुुनुहुन्छ । उहाँको नगरकोटमा पनि सिरिन माउन्टेन रिर्सोट छ भने पुल्चोकको भाटभटेनी नजिकै एम्बर्स रेष्टुरेन्ट पनि छ।
उहाँले किन्नु भन्दा अघि यो होटलको नाम डालिमा हाइवे रिर्सोट थियो। राजमार्ग हुँदै विभिन्न क्षेत्रमा जाने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै दुई दशक अघि स्थापना भएको यो होटल बीचमा बन्द भएको थियो। केही वर्ष अघि मात्रै यो होटल कुँवरले किनेपछि ठूलो लगानी गरेर आन्तरिक र बाह्य सजावट परिवर्तन गर्नुभएको थियो ।
होटलमा थप लगानी गरेर सेमिनार हलदेखि स्वीमिङ पुल समेत बनाउनु भएको थियो । होटलमा विभिन्न विवाह र व्रतबन्धसमेत गर्न मिल्नेगरि हलहरु समेत बनाइएको थियो । त्यो बाहेक पनि होटल अगाडि मार्ट पनि सञ्चालनमा ल्याएका थिए। ठूलो लगानी गरेर होटलको स्तरोन्नति गरे पनि पर्याप्त पर्यटक आएनन्। तैपनि शुक्रबार र शनिबार भने निकै भीड हुने गरेको थियो ।
होटलको अरु सञ्चालकमा शारदा कुँवर, दीपेश कुँवर र दीपा कुँवर हुनुहुन्छ । उहाँहरुले टप नच प्रोपर्टीका नामबाट पनि ऋण लिनु भएको थियो । ’आन्तरिक कारणले ऋण भुक्तानी नियमित थिएन। अब नियमित भइसकेको छ,’ बैंक स्रोतले भन्यो, ‘कोभिडका कारण अलिकति प्रभावित छ। तर अब सर्भाइव हुन्छ। उहाँहरु ऋण तिर्न सक्ने मान्छे हो । अन्य धेरै ठाउँमा सम्पत्ति छ ।’
प्रभु बैंकसँग ऋण लिन कम्पनीले ललितपुर सुनाकोठीको जग्गा धितोमा राखेको छ । त्यहाँ कम्पनीको १९ रोपनी जग्गा र घर छ । त्यो घरमा कुँवर बस्दै आउनु भएको छ । यसबाहेक टप नच प्रोपर्टिज प्रालिको स्वामित्वमा रहेको चालु सम्पत्ति तथा हाइपोथिकेसन धितो पनि छ । कुँवरको कलंकीमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने घर छ भने जोरपाटीमा करिब ४० वटा सटर रहेको अर्को घर पनि छ ।
कुँवर पश्मिनाका पुराना व्यवसायी हुनुहुन्छ । उहाँले पश्मिनामा निर्यात गरेको भन्दै सरकारबाट सम्मानित समेत हुनुभएको थियो । अहिले भने उहाँले पश्मिना ब्यवसाय छाडिसक्नु भएको छ ।
(विजमाण्डुबाट)
























