क्रिकेट
दिल्लीको लगातार दोस्रो हार, आइपीएलको प्ले अफ दौड थप रोमाञ्चक बन्यो

काठमाडौं, कार्तिक ८–
शीर्ष स्थानमा पुगेको दिल्ली क्यापिटल्सले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्ससंग ५९ रनले पराजित हुँदै दिल्ली दोस्रो स्थानमा झरेको छ ।
दिल्ली ११ खेलमा १४ अंकका साथ दोस्रो स्थानमा झरेको हो । दिल्ली भन्दा एक खेल कम खेलेको मुम्बई समान १४ अंक र उत्कृष्ट रनरेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ भने रोयल च्यालेन्जर्स बैंङलोर १४ अंकका साथ तेस्रो स्थानमा छ ।
दिल्लीको हारसंगै आइपीएलको प्ले अफ दौड थप रोचक बनेको छ । चार टिम मात्रै प्लेअफ पुग्ने भए पनि अहिले चेन्नाई बाहेक अन्य ७ टिमकै संभावना जिवितै रहेको छ । यसपटक उपाधिको बलियो दाबेदारको रुपमा रहेको दिल्ली क्यापिटल्स कोलकत्ता नाईटराइडर्ससंग फराकिलो हार व्यहोरेपछि प्ले अफ समीकरण उथलउपथल भएको छ ।
कोलकत्ताले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्ली ९ विकेटको क्षतिमा १३५ रन मात्रै जोड्न सफल भएको थियो । दिल्लीका लागि कप्तान श्रेयस ऐर बाहेक अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् । यसअघि पहिले व्याटिङ गरेको कोलकत्ताले ६ विकेटको क्षतिमा १९४ रन जोड्न सफल भएको थियो । नितिस रानाले ८१ र सुनिल नारायणले ६४ रनको अर्धशतकीय पारी खेल्दै कोलकत्तालाई विशाल योगफल तर्फ पुर्याएको थियो ।
जितसंगै १२ अंकका साथ कोलकत्ता चौथो स्थानमा यथावत रहेको छ ।
























