Breaking News

कोरोनाले निरन्तर मारमा चितवनको यातायात व्यवसाय, मजदुरलाई दसैँ मान्न पनि मुस्किल

Banner

चितवन, कात्तिक ३-

चितवनमा कोरोना संक्रमण बढ्दै गएर मानिसहरु घर बाहिर ननिस्कँदा यातायात व्यवसाय मर्कामा परेको छ । बिगतमा दसैँमा निकै चहलपहल हुने गरे पनि यस वर्ष भने व्यवसायीलाई तेलको पैसा पनि उठाउन मुस्किल भएको छ ।

कोरोना महामारी सुरु हुनुभन्दा अगाडि दिनमा ४० देखि ४५ वटा गाडी नारायणगढको पोखरा बसपार्कबाट पोखरा छुट्ने गरेकोमा अहिले मुस्किलले दिनमा पाँच वटा बस छुट्ने गरेको छ । बसमा पाँच\छ जना भन्दा यात्रु नहुँदा तेल हाल्न नै मुस्किल परेको यातायात व्यवसायीहरु बताउँछन् ।

नारायणगढको पोखरा बसपार्कका टिकट बुकिङ कर्मचारी नारायण कँडेलले मानिसको आवतजावत नहुँदा यातायात व्यवसायीलाई व्यवसाय धान्न नै मुस्किल परेको नारायणी अनलाइनलाई बताउनुभयो । सरकारले घरबाहिर ननिस्कनु भनेर निरन्तर आव्हान गरेकोले पनि व्यवसायीहरु मारमा परेको उहाँले बताउनुभयो । कँडेलले भन्नुभयो, ‘ पुरानै भाडा लिनु भनेपछि झनै व्यवसायी मारमा परेका छन् । सबैभन्दा धेरै मारमा यातायात मजदुर परेका छन् । कतिपयले बाध्यताले पेसा छाड्दै छन् भने विगतमा हरेक दिन जसो भत्ता खाइरहने कर्मचारी अहिले खाली हात बस्नुपरेको छ । ’

बेलायतको आकर्षक रोजगारी छाडेर नेपाल आएर बस किनेर चलाउँदै आउनुभएको यातायात व्यवसायी लिला चिलुवालले सोमबार पोखरा जान लाग्दा जम्मा तीन जना यात्रुमात्र भएपछि तेल खर्च पनि नउठ्ने भन्दै बस ग्यारेजमा थन्क्याउनुभयो । उहाँले दसैँ लाग्यो भने पनि यातायात व्यवसायीलाई दसैँ आउन नसकेको बताउनुभयो । सडकमा खाली गाडी गुडाउनुपर्दा झनै पीडा हुने गरेको उहाँको विचार थियो । उहाँले पोखरा मात्र नभएर गोरखा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीतिर गुड्ने बस पनि खाली नै गुड्ने गरेको बताउनुभयो । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘ एकातिर बैँकले किस्ता तिर्न तनाव दिइरहेकोले बस बेचेर फेरि विदेश जाउँ जस्तो लागेको छ ।’ कतिपय युट्युब र अनलाइन च्यानलहरुले स्याङ्जालगायत विभिन्न जिल्लाका विभिन्न स्थानीय तहमा पीसीआर रिपोर्ट नभई प्रवेश नदिने भन्ने हल्ला चलाएकोले पनि यात्रुहरुलाई मानसिक असर परेको व्यवसायी चिलुवालले बताउनुभयो ।

बिगतका वर्षहरुमा जसरी दसैँमा शहरी भेगबाट गाउँ जाने र काठमाडौँबाट चितवन फर्किने यात्रुहरुको भीड हुने गर्दथ्यो । अहिले काठमाडौँबाट चितवन आउने मानिसहरुको संख्या पनि निकै कम भएको छ । बसमा चढ्ने यात्रुहरु प्लेनमा चढुन् भनेर जहाज भाडा निकै घटाएकोले पनि सार्वजनिक यातायातमा यात्रु घटेको कतिपय बताउँछन् ।

नारायणी यातायातअन्तर्गत लकडाउन सुरु हुनु अगाडि नारायणगढबाट काठमाडौँ दिनमा ४० वटा माइक्रो चल्ने गर्दथे तर हिजोआज एउटा माइक्रो पनि निकै मुस्किलसँग गएको छ । व्यवसायी रोशन घिमिरेले भाडा घटेर पुरानै भाडादर कायम गर्दा माइक्रो चलाउन झनै सकस भएको नारायणी अनलाइनलाइ जानकारी दिनुभयो । अर्का व्यवसायी होमनाथ बास्कोटाले चितवनबाट काठमाडौँ जाने यात्रु त यो बेला यसै नै कम हुन्छन् तर यसपटक काठमाडौँबाट चितवन आउने यात्रु पनि धेरै कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत साल यतिबेला काठमाडौँबाट चितवन आउँदा सिट नपाउने अवस्था हो । अहिले तेलको पैसा पनि उठेको छैन ।’ उहाँले तीन दिन जती बस थन्क्याएर तीन दिनपछि चलाउने विचार गरेको नारायणी अनलाइनलाई बताउनुभयो । अन्य आम्दानीको स्रोत नभएका र यातायात व्यवसायबाट नै जीवन गुजार्दै घरपरिवार चलाइरहेका व्यवसायी र मजदुर बढी मर्कामा परेका छन् ।

ट्याक्सीलाई अवसर

ठूला बस र सार्वजनिक यातायातमा यात्रुको संख्या निरन्तर ओरालो लागेको समयमा ट्याक्सीहरुले भने निकै राम्रो आम्दानी गरिरहेका छन् । हालसालै कार किनेर रिजर्बमा चलाइरहनु भएका भरतपुर महानगरपालिका–११ बसेनीका दुर्गाबहादुर गुरुङले भने ठूला बसमा यात्रु चढ्न नमान्दा अहिले ट्याक्सीलाई राम्रो अवसर आएको बताउनुभयो । उहाँले भन्नु भयो, ‘अहिले ट्याक्सी चढ्ने मानिस बढेका छन् ।’ सुरक्षाको मापदण्ड अपनाएर आफूखुसी यात्रा गर्न पाइने भएकोले पनि ट्याक्सीमा यात्रुको आकर्षण बढेको देखिन्छ ।

(फाइल फोटो)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>