चितवन विशेष
अमेरिकाका नेपालीद्धारा देवघाटमा सहयोग

चितवन,असोज ३०-
कोभिड १९ बाट प्रभावित देवघाटका बालबालिका र बृद्धबृद्धालाई आज शुक्रबार खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुको संस्था ‘ग्रेटर अस्टिन नेपाली सोसाइटी’ को सहयोगमा उहाँहरुलाई ती सामग्री सहयोग गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई स्थानीय रुपमा गुणनिधि खनाल मेमोरियल ट्रष्टले संयोजन गरेको थियो । ट्रष्टले विशेष गरी देवघाटको स्वास्थ्य र शिक्षाका सरोकारका विषयमा काम गर्दै आएको छ । यसका सदस्यहरु नेपालदेखि अमेरिकामा रहेका नेपालीहरु छन् । बि.सं. १९८५ मा जन्मिएका सामाजिक व्यक्तित्व गुणनिधि खनालको बि.सं. २०६९ मा देवघाटमा देहान्त भएपछि उनकै सम्झनामा ट्रष्टको स्थापना गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा डा. अधिकारीले अहिलेको अवस्थामा कोरोनाबाट सबै क्षेत्र प्रभावित बनेको बताउँदै यसबाट सजग बन्न सबैलाई सुझाव दिनुभयो । रोग लाग्नुभन्दा पहिले नै सावधानी अपनाईयो भने कोरोनाको प्रभाव पनि कम हुने उहाँको भनाई थियो । देवघाटमा रहेका बासिन्दालाई गरिएको यो सहयोग पूर्ण नभए पनि विदेशी भूमीबाट गरिएको यो सहयोगप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
सोेही कार्यक्रममा डा. अधिकारीले ट्रष्टद्वारा देवघाटमा सञ्चालित निःशुल्क स्वास्थ्य क्लिनिकलाई आवश्यक सहयोग गर्ने र महिनामा एकपटक विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्न व्यवस्था मिलाईने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । देवघाटमा रहेका एनआरएन वृद्धाश्रम, ईश्वर बाल सेवा आश्रम, रामजानकी गार्गी कन्या गुरुकुल र रामजानकी बालिका आश्रमलाई ७५ हजार रुपियाँ बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरिएको गुणनिधि खनाल मेमोरियल ट्रष्टकी कोषाध्यक्ष सिर्जना खनालले कार्यक्रममा जानकारी दिनुभएको थियो ।
सहयोग रकम जुटाउन अमेरिकामा ट्रष्टको तर्फबाट डा. कृष्णप्रसाद खनाल र ग्रेटर अस्टिन नेपाली सोसाइटीका तर्फबाट भोजराज भट्टले विशेष पहल गर्नुभएको थियो ।
























