Breaking News

एनआरएनले डा. केसीको सत्याग्रहमा नैतिक समर्थन गर्नुपर्छ : खरेल

Banner

डिला खरेल

गैरआवासीय नेपाली संघ सार्क मुलुकभन्दा बाहिर विश्वभर छरिएर रहेका सबै नेपालीहरुको साझा एवम् प्रतिनिधिमूलक संस्था हो । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्र बोकेको गैरआवासीय नेपाली संघको आफ्नै उद्देश्य, लक्ष्य र सीमाहरु छन् । गैरआवासीय नेपाली संघको मूल मन्त्र प्रवासबाट स्वदेशलाई के दिन सकिन्छ र देश विकासमा कसरी सहयात्री हुन सकिन्छ भन्ने हो । गैरआवासीय नेपाली संघले आफ्ना छुट्टाछुट्टै समिति मार्फत् देशमा अनेकौ काम गरेको ज्वलन्त उदाहरण हामीसँग प्रसस्तै छन् चाहे खाडी मुलुकमा अन्यायमा परी ज्यानको जोखिमका बेला जुटाएको ब्लड मनी, सबैखाले सामाजिक, कानुनी र आर्थिक सहयोग होस् चाहे सामुहिक लगानी मार्फत् नेपालमा गरिएका विविध लगानीहरु ( हाइड्रो पावर कम्पनी, स्तरीय र तारे होटल, पर्यटन, शिक्षा, स्वास्थ्य) लगायत अन्य दर्जनौ क्षेत्रमा गरिएको लगानी होस् वा सबै नेपालीको मन जित्ने गरी गरिएको भूकम्प गएको २४ घण्टा बित्दा नबित्दै थलिएको र गरिएको राहत कार्यक्रम वा जारी पुनर्निर्माणको काम होस् । नेपाल र नेपालीको अमनचयन र सर्वोपरी हित नै सारा एनआरएनहरु र सिंगो संस्था गैरआवासीय नेपाली संघको मूल चाहना र मर्म हो ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखिने आईसीसी लेभलबाट नै सुरु गरेको एनआरएनए टास्क फोर्सले नेपालमा भए गरेका हुने या भइरहेको बेथिति, अराजकता र सामाजिक अन्याय जातीय भेदभाव, बाल श्रम शोषण, वैदेशिक रोजगारीका समस्या र चुनौतीका विषयमा नियम संगत र न्यायिक आवाज उठाउँदै आएको छ । तर, यी महत्वपूर्ण र ओझपूर्ण कामहरु त्यती चर्चा र बहसका विषय भने बनेका छैनन् । नेपाल र नेपालीहरुले एनआरएनको स्थापनासँगै एनआरएनको नेपाल र नेपाली प्रति विशेष खालको भूमिका होस् भन्ने अपेक्षा गरेको र राखेको संस्थाले बोध ग¥यो र स्थापनाकालदेखिनै आफ्नो स्वच्छ र विशिष्ट भूमिका नै निभाई रह्यो । आम मानिसमा एनआरएनहरु पैसावाल हुन् यो बिजनेस म्यान क्लब हो । हो हल्ला र सानो तिनो लगानी त्यो पनि केबल हातमा गन्न सक्ने एनआरएनहरुले मात्रै गरेका छन् भन्ने भ्रम हाल आएर अन्त्य प्राय हुँदैछ, भइ सकेको छ ।

स्थापनाको १७ वर्षे गैरआवासीय नेपाली संघ देशमा भएका ठूला ठूला क्रान्ति र व्यापक सामाजिक परिवर्तनको सहयात्री र सहयोगी हो भने अब मात्रै आर्थिक विकासले देश विकास सम्भव छ भन्नेमा एकमत राखी देशलाई कसरी आर्थिकरुपमा समुन्नत बनाउन सहयोगी हुन सकिन्छ भनेर दत्त चित्त भएर लागिरहेको छ । गैरआवासीय नेपाली संघ, यति हुँदा हुँदै आफ्नो निरन्तर विविध परोपकारी कामहरु, हरेक राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय समिति मार्फत् जारी सामाजिक, परोपकारी र अन्य सबै खाले कामको चर्चा त्यती जरुरी यहाँ ठानिन तपाइँ सबै यसका सच्चा हिस्सेदार र जानकार नै हुनुहुन्छ ।

अब कुरा गरौ डा. गोविन्द केसीको सत्याग्रहको यसमा फरक फरक र विविध विचारहरु हुन सक्छन् । भद्र बिमति र फरक विचारको म सधैसधै सम्मान गर्छु । अपितु बुझ्नु पर्ने कुरा के हो भने निशर्त र मुख्य संयोजनकारी भूमिका समाएर एनआरएन र समस्त एनआरएनहरु एक भएर डा. गोविन्द केसीको सत्याग्रहलाई नैतिक समर्थन जनाउनु पर्छ । किन भने मैलेमाथि नै भनि सके एनआरएन र समस्त एनआरएनहरु नेपाल र नेपालीका लागि एक विशिष्ट र विशेष शक्ति हुन् । अन्यायको विरुद्ध, अत्याचारको विरुद्ध, बेथितिको विरुद्ध , अराजकताको विरुद्ध आवाज उठाउन सक्ने सच्चा बांैदिक , वुद्धिजीवी र प्राज्ञिक नागरिक समाज, समूह र संस्था हो एनआरएन, खुलेर सत्यलाई सत्य र अन्यायलाई अन्याय भन्न सक्ने पवित्र निधि हुन् एनआरएन ।

दुर्गम क्षेत्रमा विधालय, पुस्तकालय, स्वास्थ्य चौकीलगायत प्रत्यक्ष जनतालाई हित हुने गरी काम गर्दै हिड्ने एनआरएन र समस्त एनआरएनहरु तिनै दूर दराजका सामान्य भन्दा सामान्य नागरिक अस्पताल देख्न नपाएर, एक चक्की सिटामोल नपाएर अकाल मै ज्यान गुमाउनु नपरोस् भनेर दुर्गममा शिक्षा र स्वास्थ्यमा नागरिकको बराबर पहुँच हुनुपर्छ । सरकार यसमा सचेत र गम्भीर हुनु पर्छ भनेर आफ्नो ज्यानको बाजी राखेर निःशन्देह सबै नेपाली नागरिकको सर्वोपरी हितका खातिर आमरण अनसन बसेका इमान, जमान र नैतिकताका पर्याय सच्चा त्यागी डा. गोविन्द केसीको आमरण अनसन र सत्याग्रहको पूर्ण समर्थन गर्छ । त्यति मात्रै होइन सरकार र डा. गोविन्द केसीको बीचमा वार्ता गरी समस्या समाधानको पहल कदमीमा समेत सारथी बन्ने छन् एनआरएन यो नगर्नु पर्ने कुनै कारण छैन ।

मैले माथि नै भनि सके एनआरएन ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्र बोकेको संस्था हो । हो देश अविकशित छ । अशिक्षा छ गरिबी छ , बेरोजगारी छ, धेरै भन्दा धेरै फटाह, वैदेशिक दलाली, बिकाउ र देश हितमा काम नगर्ने पटक पटक राज्यको नेतृत्वमा पुगे र पुगेका छन् । देशलाई जर्जर र पीडाग्रस्त बनाउन नै तल्लिन रहे तथापि केही आश लाग्दा र भरोसा योग्य सच्चा राष्ट्रवादी नेता र नेतृत्व नभएको होइन तर यिनीहरु साराका सारा ओझेलमा परे र परियो । उठ्न सकेनन्, उठ्ने दिइएन यो हदको परकाष्टा र बिडम्वना हो । नहुँदो हो दिन बिति सक्दा पनि सत्याग्रही डा. गोविन्द केसीको आन्दोलनलाई ठोसरुपमा नलिनुलाई अरु केको संज्ञा दिऊ ? धिक्कार नेतागण, धिक्कार सरकार !

स्मरणीय रहोस् अब यो सैय छैन यो त हदै भयो । जसरी हरेक सचेत र जिम्मेवार नेपाली नागरिकलाई यो पाच्य छैन त्यसरी नै सबै ससै एनआरएनहरुलाई छैन, नहुनु पर्ने हो एकआद अपवादको मैले यहाँ कुरा गर्न खोजिराखेको छैन । भूकम्प पीडितका लागि भनेर आएको जस्ता पाटा र त्रिपालसम्म चोर्न भ्याउने नेताहरुको के कुरा गर्नु आँट, इमान, जमान र नैतिकता भएका देश र सच्चा देशबासीका लागि लड्ने, दूरदराजलाई हेर्ने सांसद देशले पाएन यद्यपि यस सम्बन्धमा भएका केही प्रयास र एक आद संसदप्रति मेरो ठूलो सम्मान छ, मन्त्री, मन्त्रीगण तथा अन्य सम्बन्धितको त कुरै नगरौ ।

डा. केसीको सत्याग्रह र आन्दोलनका बारेमा लेख्दै गर्दा निकम्मा, दलाली नेतृत्व र देश बाहिरको सार शत्रुसँगको आड रहेको बारे म त्यति चर्चा गर्न इच्छुक रहिन । जनताले हेरेको छ , नियालेको छ , समय बलवान छ र पंक्तिकार सत्यको अवश्य जित हुन्छ भन्नेमा पूर्ण विश्वास राख्ने र सत्यको बाटो यात्रा गर्दा धेरै एक्लिनु र एक्लो हुनुपर्ने परिवेशको समाज अहिलेको समाज हो र हुँदा हुँदै पनि गौतम बुद्धको देशमा सत्य मेटिँदैन र मर्दैन भन्ने र भन्नेहरु सबै सबैमा विश्वास र सम्मान प्रकट गर्ने एक नेपाली हो !

(लेखक खरेल गैरआवासीय नेपाली संघका अभियन्ता एवम् युवा व्यवसायी हुनुहुन्छ । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>