समाचार
सरकारलाई कांग्रेसको प्रश्न : डा केसीसँग कुरैनगरी कात्रो पठाउने तयारीमा हो ?

काठमाडौं, असोज २१-
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीका जायज मागलाई सम्बोधन गर्न ढिला गर्न नहुने बताएका छन् ।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रवक्ता शर्माले डा. केसी अनसन बसेको २४ औँ दिन पुग्दासमेत सरकारले वार्ताका लागि समितिसमेत गठन नगरेको भन्दै सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई नै सम्बोधन गरिएको विज्ञप्तिमा कांग्रेसले सरकारको नेतृत्व गर्दा गरिएका माग पूरा गरे पनि ओली सरकारमा आएपछि त्यसलाई उल्टाएको आरोप लगाएका छन् ।
‘प्रधानमन्त्रीलाई गम्भीर प्रश्न’ शीर्षकको उक्त विज्ञप्तिमा प्रवक्ता शर्माको प्रश्न छ, ‘ डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?’
प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको लोकतन्त्रमाथिको प्रतिवद्धतामाथि समेत प्रश्न उठाएका छन् । उनले कुनैबेला माओवादी जनयुद्धको कटु आलोचना गर्ने प्रधानमन्त्री ओली अहिले शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार गर्ने अवस्थामा आइपुगेको बताएका छन्।
‘डा. गोविन्द केसी अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो। वार्ता समितिसम्म गठन गर्नुभएको छैन। कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नुहुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?

























