चितवन विशेष
सफलताको कथाः ‘सबैका प्रीय मेहनती नर्स कविता’

मेहनत गरेपछि एक दिन अवश्य नै फल पाइन्छ । जति मेहनत गर्दै गए उसैगरी सफलताले पनि पछ्याउँदै जान्छ । त्यसरी नै निरन्तर मेहनत गर्दै आइरहेकी कविता खतिवडा अहिले सफलता चुम्दै अघि बढिरहेकी छिन् । मेहनत गरेपछि एक न एक दिन अवश्य पनि मेहनत अनुसार फल पाइन्छ भनेरै अघि बढेकी खतिवडा आफ्नो जीवनमा निरन्तर सफलता प्राप्त गरिरहेकी छिन् ।
वि.सं.२०४१ मंसिर ६ गते बुवा दिवाकर खतिवडा र माता नानीदेवी खतिवडाको कोखबाट जन्मिएकी कविता बाल्यकालदेखि नै मेहनती स्वभाकी थिइन् । सर्दी बेनीमणीपुर गाविस, नवलपरासीमा जन्मिएकी कविताको बाल्यकाल सोही ठाउँमा बित्यो । सानैदेखि समाजमा केही गर्नुपर्छ भनेर अघि बढेकी कविता अन्ततः अहिले पनि समाजकै लागि अघि बढीरहेकी छन् । दुःखमा परेका मानिसको सेवामा निरन्तर सहयोगी बन्ने अठोट गरेकी कविता अहिले सोही अनुरुप सेवामा खटिएकी छिन् । बिएन, एम.एसी नर्सिङ, बिएड, एमए (त्रिभुवन विश्वविद्यालय) उतीर्ण गरेकी कविता पढाइमा पनि उत्तिकै अब्बल छिन् ।
कुशल, निडर, साहसी स्वभाकी कविता वैवाहिक जीवनपछि पनि अध्ययन र सेवालाई निरन्तरता दिइन् । २०६० फागुन ११ गते भरतपुर–९ निवासी दिलिप घिमिरेसंग वैवाहिक जीवनमा प्रवेश गरेकी कविता आफ्नो सपना साकार पार्न निरन्तर अघि बढिरहेकी छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज), भरतपुर अस्पतालमा कुपोषित बालबालिकाको सेवाका लागि पोषण पुर्नस्थापना केन्द्रको प्रोजेक्ट म्यानेजर, युनिसेफ नेपालमा न्यूट्रेसन हेल्थ अफिसर, कालीगण्डकी कलेज कावासोतीमा प्रिन्सीपल तथा लेक्चरको अनुभव संगालेकी कविता अहिले भरतपुरकै विभिन्न संस्थामा आवद्ध छिन् ।
हाल कालिका मेडिकल एण्ड टेक्निकल कलेजमा लेक्चरल, मनकामना अस्पतालमा नर्सिङ प्रमुख रहेकी छिन् भने अस्पतालको सञ्चालक समेत हुन् । उनी अझै पनि बिरामीको सेवामा दिनरात खटिन्छिन् । दिनरात बिरामीको सेवामा तल्लिन हुने कविता एक अब्बल नर्स हुन् । विहानको मिर्मिरेसंगै मनभरी नर्सिङ भावना बोकेर हजारौं छटपटिएका बिरामीका मनभावना कदर गर्दागर्दै आफू हराएको र आफ्ना सारा खुशी त्यही भित्र लुकेको उनी महसुस गर्छिन् । ती चित्कारमा छटपटिएका बिरामीको मन्द मुस्कानमा उनको सेवा झल्किन्छ र चित्कारमा पनि शितलताको महसुस हुन्छ कवितालाई । फूर्तिलो बानी, हसिलो स्वभाव उपकारी गुणले उनी लोकप्रीय भएकी नर्स हुन् ।
कोभिडको भयावह परीवेशमा पनि रातदिन बिरामीको मलमपट्टीमा जुट्ने, सबैलाई शितल छहारीमा राख्न चाहने, अरुको आशु आफैबाट खसाउन चाहने उनमा अदृश्य कला छ । यति मात्र कहाँ होर ? लामो समय अध्यापन क्षेत्रमा जुट्दा पनि उनी सबैको प्रीय पात्र बन्न सकिन् । समाज रुपान्तरणमा पनि उनको प्रशंसनीय भूमिका रहेको छ । जनस्वास्थ्यका समस्या पहिचान गरी गाउँ, टोल–टोलमा सचेतना कार्यक्रमको बिगुल फक्दै दुरराजमा छटपटिएका ती दुखीहरुलाई राहतहरु बाड्दै आशाको किरण जगाइन् । एउटा नर्समा हुनुपर्ने सहनशीलता, शिष्टता, धैर्यता, मावनता उनीसंग खचाखच नभएको होइन र पनि घमण्ड भन्ने कुरा पटक्कै छैन । उनी हाल कार्यरत अस्पतालमा सबैका प्रीय पात्र हुन् ।
























