चितवन विशेष
एमालेको सदस्यता नवीकरण र अनलाइन प्रणालीमा भरतपुर–४ नेपालकै पहिलो वडा!

चितवन, भदाै १७-
नेकपा (एमाले)को पार्टी सदस्यता नवीकरण र शतप्रतिशत अनलाइन इन्ट्री सम्पन्न गर्ने भरतपुर महानगरपालिका–४ नेपालकै पहिलो वडा बनेको छ। देशभरका ६ हजार ७ सय ४३ वडामध्ये भरतपुर–४ ले सदस्यता नवीकरण र अनलाइन प्रणालीमा दर्ता गर्ने काम शतप्रतिशत पूरा गर्दै यो सफलता हासिल गरेको हो।
एमाले भरतपुर-४ का वडा इन्चार्ज प्रकाश आचार्यका अनुसार गत वर्ष २०८२ को अभिलेखलाई आधार मानेर २०८३ का लागि सुरु गरिएको नवीकरण अभियानमा सम्पूर्ण सदस्यहरूको विवरण अद्यावधिक गरिएको हो। पार्टी सदस्यता घटेको र कार्यकर्ताले दल छाडेको जस्ता समाचार सार्वजनिक भइरहेका बेला भरतपुर–४ ले उदाहरणीय काम गरेर देखाएको आचार्यले बताए।
क्षेत्रफलका आधारमा भरतपुर महानगरकै सबैभन्दा ठूलो र मतदाताका हिसाबले दोस्रो ठूलो मानिने यस वडामा ३४ वटा टोल विकास संस्था छन्। साङ्गठनिक रूपमा दोस्रो शक्तिका रूपमा रहे पनि जनपरिचालन, आन्दोलन र अन्य गतिविधिमा वडा पहिलो नम्बरमा रहेको दाबी गरिएको छ। यो वडा एमालेका चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली र पूर्व पार्टी प्रमुख विष्णु घिमिरेको समेत गृह वडा हो।
सदस्यता नवीकरण तथा अनलाइन प्रविष्टिको यो सफलतामा वडा इन्चार्ज प्रकाश आचार्य, पूर्व वडा अध्यक्ष हरि आचार्य, जिल्ला कमिटी सदस्यहरू रामचन्द्र ढकाल, शरद पोख्रेल, महानगर कमिटी सदस्यहरू होमनाथ पौडेल, खुमनाथ गिरी, वडा कमिटी अध्यक्ष महेन्द्र पौडेल, सचिव टिका राम सुवेदी, उपसचिव विश्व प्रसाद देवकोटालगायतको टोली सक्रिय थियो। प्राविधिक सहजीकरण जिल्ला कमिटी सदस्य रामबाबु सुवेदीले गरेका थिए।
वडा कमिटीका अध्यक्ष महेन्द्र पौडेलका अनुसार वडाका सम्पूर्ण अभिलेख कम्प्युटर प्रणालीमा व्यवस्थित गर्दै वार्षिक कार्ययोजनाका आधारमा सञ्चालन गर्ने प्रणाली विकास गरिएको छ। पूर्व वडा अध्यक्ष हरिप्रसाद आचार्यले भरतपुर–११ मा अध्यक्ष रहँदा प्रविधिमैत्री सदस्यता विस्तार गरी चर्चा कमाएका प्रकाश आचार्यलाई भरतपुर–४ को जिम्मेवारी दिएपछि वडाको साङ्गठनिक र प्रशासनिक काम थप सुदृढ भएको बताए।
संगठनमा देखिएको यो उत्साह र सक्रियताले आगामी २०८४ को स्थानीय निर्वाचनमा एमालेलाई बलियो नतिजा दिलाउने विश्वास स्थानीय कार्यकर्ताको छ।
प्रविधिसँगै हुर्किएको नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न पार्टीका नीति र कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा एमाले वडा नेतृत्वले जोड दिएको छ। विगतका आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका दलहरूले नयाँ पुस्ताको भावना बुझ्न नसके राजनीतिक पुनर्जागरण चुनौतीपूर्ण हुने देखिएको छ।























