चितवन विशेष

स्वास्थ्यकर्मीको सुझावः कोरोनालाई हल्का नलिऔं

Banner

चितवन, असोज १९–

कोरोना संक्रमणबाट बच्न अझै सचेतना आवश्यक रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् । कालिका एफ.एमको १८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्र्तक्रिया’ कार्यक्रममा बोल्दै उनीहरुले कोरोना संक्रमित थपिरहेको समयमा सचेतना आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएन) स्वास्थ्य समिति संयोजक डा.सञ्जिव सापकोटाले मानिसहरुले स्वास्थ्य सावधानी नअपनाएकाले अझै कोरोना सम्बन्धि सचेतना आवश्यक रहेको बताउनुभयो । ‘मानिसहरुले ज्ञान हुँदा पनि स्वास्थ्य सावधानी अपनाएका छैनन्’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीले सचेतना जगाएर आफ्नो भूमिका जारी राख्नुपर्छ ।’ उहाँले कोरोनासंग हेलचक्राई गर्न नहुने सुझाव दिनुभयो । अहिले विदेशमा मात्र २ सय ६६ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना महामारीको सयममा सबै स्वास्थ्यकर्मी एक जुट भएर लाग्नुपर्ने उहाँको धारणा राख्नुभयो ।

जनस्वास्थ्य विज्ञ डा.समीरमणि दिक्षितले कोरोना संक्रमण हुँदैमा डराईहाल्नुपर्ने अवस्था भने नरहेको बताउनु हुन्छ । ‘सार्स, इन्फुएन्जा, इबोला जस्ता भाईरस जस्तो कोभिड १९ले मानिसहरुको मृत्यु भएको छैन । चीनको भन्दा नेपालको मृत्युदर पनि १० गुणा कम छ,’ उहाँले भन्नुभयो, ‘अहिले आधारहिन कुरामा प्रचार भएकाले तथ्य र तथ्याङ्कमा रहेर सेचतना बढाउनुपर्ने देखिन्छ ।’ उहाँले दक्षिण एसियामा नै मृत्युदर कम भएपनि उच्च सतर्कता अपनाएर चिकित्सक तथा स्वास्थ्यकर्मीले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल केमिकल सोसाईटीका अध्यक्ष प्रा.डा.निरञ्जन पराजुलीले नेपालको पिसिआर परीक्षण त्रुटि रहेको बताउनुभयो । नेपालमा विभिन्न प्रयोगशालमा फरक–फरक रिपोर्ट आइरहेका छन् । यस्तो हुनुको मुख्य कारण पिसिआर परीक्षणमा गुणस्तरीय नहुनु हो,’ उहाँले भन्नुभयो, ‘निजी प्रयोगशालालाई परीक्षण गर्न दिने नाममा त्रुटि देखिएको छ ।’ उहाँले पीसीआर परीक्षणका दायरा साँघुरो भएकाले बढाउनुपर्नेमा जोड दिनुभयो । नेप्लिज नर्सेस एशोसियसन युकेका पूर्व अध्यक्ष नर्स प्रसुना कँडेलले कोरोना संक्रमण देखिदैमा अस्पताल बन्द गर्न नहुने भन्दै सतर्कताको आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभाग प्रमुख डा.रुद्र मरासिनीले भने जथाभावि पिसिआर गर्न आवश्यक नरहेको बताउनुभएको छ । कन्ट्याक ट्रेसिङमा पर्दा वित्तिकै पिसिआर परीक्षण गर्न नपर्ने भन्दै अब सतर्कता अपनाउँदै कोभिड–१९ संग जिवन जीऊनु पर्ने धारणा राख्नुभयो । ‘म पनि तीन पटकसम्म कन्ट्याक ट्रेसिङमा परेको थिए । उहाँले आफ्नो उदाहरण दिँदै भन्नुभयो, ‘तर पिसिआर रिपोर्ट पोजेटिभ देखिएन । त्यसैले संक्रमितसंगै रहँदैमा कोरोना सर्छ भन्ने होईन ।’ जोखिम बढेपनि आत्मबल बढाउँदै काम गर्नुपर्ने भन्दै धेरै त्रसित नबन्न उहाँले सर्वसाधरणलाई अनुरोध गर्नुभयो ।

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिल बिक्रम कार्कीले कोभिडबाट बचेर काम गर्नुपर्ने बताउनुभएको छ । ‘अहिले लकडाउन सकिएपछि कोभिड सकियो भन्ने मानसिकता हामी छौँ, सामान्य सुरक्षा पनि हामीले अपनाएका छैनौँ’ उहाँले भन्नुभयो, ‘यसले भयाभह हुने अवस्था निश्चित छ ।’

चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले सरकारको नियम अनुसार कोरोना संक्रमितको उपचार गरिरहेको बताउनुभएको छ । निजि मेडिकल कलेजले सरकारले तोकेको मापदण्डमा गुणस्तरीय सेवा दिइरहेको दावि गर्नुभयो । चितवन मेडिकल कलेजले चितवनमा अहिलेसम्म सबैभन्दा धेरै ४ सय ४८ जना कोरोना संक्रमितलाई सेवा दिएको बताउनुभयो । उहाँले नर्स तथा चिकित्सकले अग्रपन्तिमा रहेर गरेको कामको प्रशंसा समेत गर्नुभयो ।

केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा भरतपुर अस्पतालका निर्वतमान मेसु डा.श्रीराम तिवारीले कोरोनासंगै सबै मिलेर लड्नुपर्ने बताउनुभयो । भरतपुर अस्पतालका प्रसुती रोग विभागका प्रमुख डा.सुनिलमणी पोख्रेलले कोरोना संक्रमण देखिँदैमा अस्पताल बन्द गर्न नहुने बताउनुभयो । आफू संक्रमण हुँदा एक सातासम्म प्रसुती विभाग नै बन्दभएको भन्दै उहाँले बिरामीलाई सेवा दिनबाट अस्पताल पछि हट्न नहुने धारणा राख्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले स्वास्थ्य क्षेत्रसंगै व्यापार व्यवसाय, वित्तिय संस्था र सरकारी कार्यालयमा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको बताउनुभयो । बिगतमा बैदेशिक रोजगारीमा गएका व्यक्तिमा संक्रमण देखेपनि अहिले समुदाय स्तरमा नै संक्रमण फैलिएको उहाँले दावि गर्नुभयो । चितवनमा संक्रमणसंगै निको हुने दरपनि बढेको छ ।नेपाल नर्सिङसंघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले कोरोना संक्रमितको उपचारमा नर्सको महत्वपुर्ण पूर्ण भुमिका रहेको बताउनुभयो ।

यसक्रममा नर्सहरु पिडित समेत भएको भन्दै उहाँले समाजलाई मानविय बन्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा स्वदेश तथा विदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीले सहभागिता जनाएका थिए । सहभागि चिकित्सकहरुले कोरोनालाई बेवास्ता नगर्न सुझाव थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>