Breaking News

भरतपुरमा कोरोनाको प्राकृतिक उपचार सफल बन्दै, लक्षण भएकासहित ९९ जना निको भए

Banner

चितवन, असोज १८-

भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ९९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यसैगरी चिकित्सालयमा अझै ५८ जनाले उपचार गराइरहेका छन् । गत भदौं १५ गते देखि चिकित्सालयमा कोरोना संक्रमितको उपचारको काम सुरु भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाले चिकित्सालायमा आएका १०० प्रतिशत बिरामी निको भएकोे बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कोरोनाको लक्षणसहित आएका बिरामीहरु कसैलाई पनि अस्पताल लैजानु पर्ने आवश्यकता परेको छैन । सुरुसुरुमा क्षयरोगका केही बिरामीलाई रोग सर्ने डरले अस्पताल लैजानु परेको थियो । अहिले जस्तोसुकै लक्षण देखिए पनि हामीले ठीक पारेका छौं ।’ चिकित्सालयमा बिरामीको उपचारमा १८ जना स्वास्थ्यकर्मीको टोली र सुरक्षाकर्मीको टोली १५ जना खटिएका छन् ।

कसरी गरिन्छ प्राकृतिक उपचार ?

चिकित्सालयमा आउने कोरोनाका बिरामीहरु मध्ये अधिकांश १५ वर्षदेखि ७७ वर्षसम्मका छन् । बिहान ५ः ३० बजे सबैजना उठेपछि प्राकृतिक उपचार प्रक्रिया सुरु हुन्छ । सबै बिरामी नुहाइधुवाइ गरेपछि चिकित्सालयले गुर्जोको र जेठी मधुको जुस पिउन दिइन्छ । बिहान ७ः ३० बजेबाट योगा सुरु गरिन्छ । योगासँगै बिरामीहरुलाई जलनेती र घाँटी सफा गर्न लगाइन्छ । त्यसैगरी बिहान ८ः ३० बजे सबैले घाम तापेर सूर्य स्नान गर्छन् । चिकित्सालयले ९ बजे फापर, गहुँको रोटी खाजा दिन्छ । खाजा खाइसकेपछि बिरामीको हरेक दिन स्वास्थ्य परीक्षण गरिन्छ । बिहान ११ः ३० बजेबाट दुई बजेसम्म सुत्ने व्यवस्था गरिएको चिकित्सालयले जनाएको छ ।

त्यसैगरी दिउँसो काँडा पानी, ३ बजे खाजाको रुपमा उमारेको गेडागुडी, बदाम, किस्ता र काजु दिइन्छ । प्राकृतिक चिकित्सालयको नियम अनुसार साँझ ५ बजे नै भोजन गराइन्छ र १६ घण्टा पेटलाई खाली गर्न लगाइन्छ । सात बजे एक गिलास दुध दिने गरिएको छ ।

चिकित्सालयमा कोरोना संक्रमितका लागि छुट्टै ब्लक स्थापना गरेर उपचार सुरू गरिएको छ । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि स्थानको अभाव भएकोले चिकित्सालयलाई उपचार केन्द्रको रुपमा प्रयोग गरिएको हो । लक्षण नदेखिएका कोरोना संक्रमितका लागि ‘लेभल–ए’ अस्पतालका रुपमा गत चैतमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको भए पनि सरोकारवाला बीचमै आपसी खिचातानीका कारण तीन महिना नपुग्दै बन्द गरिएको थियो। जनस्तरबाट व्यापक दबाब आएपछि भरतपुर महानगरपालिका र भरतपुर अस्पताललगायतका निकायहरूको समन्वयमा वाग्मती प्रदेश सरकारको सहयोगमा प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रुपमा प्रयोग गर्न लागिएको हो । २०७४ असोजमा स्थापना भएको चिकित्सालयमा ३६ जना स्वास्थ्यकर्मीहरू छन् । अहिले कोरोनाको उपचारमा चिकित्सालय केन्द्रित भएकोले अन्य रोगको उपचार भने नभएको चिकित्सालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>