क्रिकेट
हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

काठमाडौं, असोज १७–
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत गयराती भएको खेलमा सनराइजर्स हैदरावादले साविक उपविजेता चेन्नाई सुपर किंग्सलाई सात रनले पराजित गरेको छ ।
हैदरावादले दिएको १६५ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १५७ रन मात्रै जोड्न सक्यो । प्रतियोगितामा चेन्नाइको यो लगातार तेस्रो हार । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा १६५ रनको लक्ष्य पछ्याएको चेन्नाईलाई तेस्रो ओभरमा ठूलो झट्का लाग्यो । भुनवेश्वर कुमारको बलमा शेन वाटसन बोल्ड भए । वाटसनले १ रन मात्र बनाउन सके । यो चोटबाट उठ्ने प्रयास गरेको चेन्नाईका अम्बाती रायडुलाई टि नटराजनले बोल्ड गरेर अर्को एक झट्का दिए । नटराजनले ८ रन मात्रै बनाउन सके ।
त्यसअघि एक रन बटुल्ने कोसिस गर्दा फाफ डु प्लेसिस रन आउट भएका थिए । उनले १९ बलमा चार चौकाको सहयोगमा २२ रन बनाए ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका केदार जाधव १० बलमा ३ रन मात्रै बनाएर आउट भए ।
टिमको सम्मानजनक स्कोर बनाउन महेन्द्रसिंह धोनीले नटआउट ४७ रन बनाए । ३६ बल सामना गर्दा उनले चार चौका र एक छक्का प्रहार गरेका थिए ।
यसैगरी रविन्द्र जडेजाले अर्धशतक बनाए । ३५ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । साम कुरान १५ रनमा नटआउट रहे ।
बलिङतर्फ टी नटराजनले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
हैदरावादको जितमा प्रियम गर्गले नटआउट ५१ रन जोडे । यसैगरी डेभिड वार्नरले २८, मनिष पाण्डेले २९ र अभिषेक शर्माले ३१ रन योगदान गरे । जोनी बेयरस्टो शून्य रनमा आउट भए भने केन विलियम्सनले ९ र अब्दुल समादले ८ रन बनाए ।
बलिङतर्फ दीपक चहारले २ विकेट लिए ।

























