Breaking News

अयोध्याधाम बहसः के भन्छन् माडीका युवाहरु ?

Banner

प्रस्तुति – नारायण सापकोटा

सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले भानु जयन्तीको अवसरमा रामको जन्मस्थानको सम्बन्धमा दिनुभएको अभिव्यक्ति यतिबेला देशभर नै चर्चाको विषय बनेको छ । राजनीतिक दलका नेताहरु, सामाजिक व्यक्तित्व, महिला अगुवा, धार्मिक व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरुले अयोध्याधामको निर्माणको विषयलाई विकाससँग जोडेरे आफ्ना धारणाहरु सार्वजनिक गरिसकेका छन् । यो विषयलाई माडीको समग्र विकास गर्ने अवसरको रुपमा लिनुपर्ने धारणा पनि आइरहेको छन् । यो अवसरका समृद्ध माडी बनाउनको लागि राष्ट्रिय निकुञ्ज, चेपाङ बस्ती, रिउ करिडोर, सुकुम्वासी समस्या, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाका समस्याहरु समाधान गर्ने गुरुयोजनासहित अगाडि बढ्नुपर्छ भन्ने धेरैको मत रहेको छ । माडी नगरपालिका र अयोध्या अध्ययन,अनुसन्धान तथा व्यवस्थापन समिति पनि त्यसैअनुसार अगाडि बढेका छन् । रामधाम निर्माणका विषयमा बहस चलिरहँदा आएका विचारहरुलाई सङ्कलन गरी सार्वजनिक गर्ने सम्बन्धमा यसपटक माडी विकास गर्ने अभियानमा लागिरहनुभएका युवाहरुको विचारलाई समावेश गरिएको छ । बहसका क्रममा आएका नयाँ विचारहरुलार्ई समावेश गर्दै जाने लक्ष्य पनि रहेको छ ।

भीम महतो अध्यक्ष, थारु कल्याणकारिणी सभा , माडी –

विकासमा पछाडि परेको माडीलाई समृद्ध बनाउने उद्देश्यका साथ प्रधानमन्त्रीले नै चासो दिएर रामधाम निर्माणको अभियानलाई अगाडि बढाउनु स्वागत योग्य कार्य हो । यसले माडीको पर्यटन प्रबर्धन गर्नुका साथै समग्र विकासका आधार तयार हुन्छन् भन्ने मलाई लागेको छ ।

माडी आफैंमा प्राचिन विषयवस्तुसँग जोडिएको पावन भूमि हो । यहाँका वाल्मीकिदेखि ठोरीसम्मका स्थलहरुलाई अध्ययन गर्दा धार्मिक पर्यटन विकास गर्ने प्रशस्त आधार छन् । तरपनि ती स्थलहरुको सदुपयोग गरेर अगाडि बढ्न सकिएको छैन् । यतिबेला सम्माननीय प्रधानमन्त्रीले लिनुभएको अग्रसरतालाई हामीले सम्मान गर्दै विकासका योजनाहरु अगाडि ल्याउनुपर्छ । हामीले यसलाई विकास गर्ने आधारको रुपमा लिएका छौं । यसले जनताको आय आर्जन पनि बढाउँछ ।

राममन्दिर निर्माण गर्दा अन्य विकासका योजनाहरु ओझेलमा पर्छन कि भन्ने प्रश्न पनि उठाउने गरिएको छ । राज्यले विभिन्न योजनाहरु एकैसाथ अगाडि बढाउन सक्छ । त्यसैले रामधामले विकासका योजना पछाडि पार्ने कुरै होइन्, यो त माडीको समग्र विकास गर्ने अवसर हो । त्यसैले समृद्ध माडी बनाउने परिकल्पना अनुसारको गुरुयोजना तयार गरी अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।

सन्तोष पनेरु , केन्द्रीय सदस्य, युवा संघ नेपाल –

प्रधानमन्त्रीले अग्रसरता लिएर राम मन्दिर बनाउने विषयको विरोधी म होइन् । कम्युनिष्ट पार्टीको कार्यकर्ता हुनुका नाताले बहुसङ्ख्यक जनताको भावनालाई सम्मान गर्दै उहाँहरुको धार्मिक आस्था र कार्यलाई अनादर गर्ने उद्देश्य पनि होइन् । तर रामधाम बन्दैमा माडीको समग्र विकास हुन्छ भन्ने विश्वास पनि छैन् ।

माडीमा तत्काल समाधान गर्नुपर्ने समस्याहरु छन् । चेपाङ्हरुको घरमा आगलागी भएर सरकारकोे तीब्र आलोचना पनि भइरहेको समयमा जनताका समस्यालाई सम्बोधन नगरी रामधाम निर्माणको योजना आउनु निकुञ्जका ऐनहरु संशोधन र व्यवस्थापनलाई छल्ले नियतले आएको हो कि भन्ने मलाइ लागेको छ ।

रामधाम बनाउनको लागि बाधक बन्ने निकुञ्जका ऐनहरु संशोधन गरी ५० बिगाह जग्गा छुट्याएर एक अरब जतिको वजेट र त्यसको डिपिआर पास गराएर ल्याएमा सबैले सम्मान गर्लान् । यो काम गर्न सरकार तयार होला ? जनविश्वास लिएर प्रक्रिया अगाडि बढ्यो भने धार्मिक पर्यटनको विकास गर्ने कार्यमा मेरो सहमति हुनेछ । तर यतिबेला राममन्दिर निर्माण गर्नुभन्दा पहिला माडीमा उत्पीडनमा परेका मानिसहरुको समस्या कति छ , त्यसको मूल्याङ्कन गरेर तत्काल समाधान गर्नतिर लाग्नुपर्छ भन्ने मेरो धारणा हो ।

यमनाथ सुवेदी , नगर सचिव ,नेपाली कांग्रेस, माडी –

माडीमा धार्मिक र पुरातात्विक महत्वका स्थलहरुको अध्ययन गरी स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले नै धार्मिक महत्वका विषयमा चासो दिएर विषय उठान गर्नु सकारात्मक कार्य हो । यसलाई अवसरको रुपमा लिएर पर्यटन विकासका कार्यहरु अगाडि बढाउनु हाम्रो कर्तव्य पनि हो । माडी विकासको आवश्यकताबाट हेर्दा यसलाई विकास गर्ने अवसरको रुपमा लिनुपर्छ भन्ने मलाई लागेको छ यो अवसरको सदुपयोग गर्नुपर्छ ।

माडीमा निकुञ्जलगायतका तमाम समस्याहरु पनि छन् । ती समस्याहरु पनि सम्बोधन हुने गरी काम अगाडि बढाउनुपर्छ । आश्वासन दिने र वजेट छर्ने काम हुनु हुँदैन । काम सम्पन्न गर्ने श्रोत र आधार तयार गरेर काम गर्नुपर्छ । रामधाम निर्माण गर्ने विषयमा माडीवासीहरु एकजुट भएर लाग्नुपर्छ ।

नेत्र काफ्ले , नगर कमिटि सदस्य ,नेकपा, माडी –

रामधाम बनाउने विषयलाई लिएर राष्ट्र प्रमुखको ध्यान माडीमा आउनु सकारात्मक कार्य हो । पार्टीका दुवै शीर्ष नेताले माडीलाई मणि बनाउने उद्घोष गरेको लामो समयपछि प्रधानमन्त्रीले माडीको विकास गर्ने उद्देश्यका साथ आएको विषय माडीलाई मणि बनाउने आधार पनि हो भन्ने लाग्छ ।

निकुञ्जको ऐन संशोधन नगरी माडीमा रामधाम बन्ने आधार तयार हुँदैन । त्यसैले जनविरोधी निकुञ्ज ऐन संशोधन गरी काम अगाडि बढ्यो भने अन्य विकासका पुर्वाधारहरु अगाडि बढाउने बाटो खुल्छ । प्रधानमन्त्रीले नै अग्रसरता लिएको विषय भएकोले निकुञ्ज ऐन संशोधन होला भन्ने मलाई विश्वास लागेको छ ।

रामधामको निर्माणले विकासका आधारहरु तयार गर्छ भने बेरोजगारी समस्यालाई समाधान गर्न सहयोग गर्छ । यो विषय विशेष गरी पर्यटन विकास गर्ने आधार भएकोले माडीबाट वाल्मीकि आश्रम जाने सडक बनाउनुपर्छ । माडीका परशुराम कुण्ड, गोद्धकनाथ, सोमेश्वर, वैकुण्ठेधाम लगायतका स्थलहरुको विकास गरी पर्यटकहरुको लागि आकर्षण केन्द्र बनाउनुपर्छ । समग्रमा भन्दा प्रधानमन्त्रीले उठाउनुभएको विषयलाई अवसरको रुपमा लिएर माडी विकासमा लाग्नुपर्छ ।

हितमान गुरुङ , अध्यक्ष चितवन, नारायणी संयुक्त उपसमिति , माडी–

प्रधानमन्त्रीले विभिन्न अध्ययन अनुसन्धान गरेर माडीमा अयोध्याका प्रसङ्ग ल्याउनु सकारात्मक कार्य हो । यो विषय माडी विकास गर्ने योजनासँग सम्बन्धित रहेकोले अवसरको रुपमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । रामधाम निर्माणको विषय माडीको मात्र होइन राष्ट्रकै पर्यटन विकास गर्ने विषय हो । यो विषय पर्यटनसँगै समग्र माडी विकास गर्ने आधार हो भन्ने मलाई लाग्छ ।

रामधाम निर्माणको विषयले धर्म, कला, संस्कुति संरक्षण गर्नुका साथै रोजगारका आधारहरु तयार हुन्छ । त्यसैले यो अभियानलाई सहयोग गर्न हामी यातायात व्यवसायीहरु तयार रहेका छौं । यतिबेला नारदमणि पौडेलको संयोजकत्मा बनेको अयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समितिले प्रभावकारी रुपमा काम गरिरहेको छ । अध्ययन समितिलाई सहयोग गर्नु सबैको कर्तव्य हो । अव यो विषयलाई सरकारले अग्रसरता लिएर काम अगाडि बढाउँनुपर्छ ।

क्षेत्र देवकोटा , सल्लाहकार, चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति –

पार्टीका दुबै अध्यक्षहरुले माडीलाई मणि बनाउँछौं भनेर घोषणा गरिसकेको भएतापनि त्यसका आधारहरु तयार भएका थिएनन् । यतिबेला राष्ट्रप्रमुखबाट नै अग्रसरता लिएर रामधाम निर्माणको विषय आउनु माडीलाई मणि बनाउने आधारका रुपमा आएको हो भन्ने मलाई लागेको छ । माडीमा पर्यटन विकासका अनेकौं सम्भावनाहरु रहेको सन्दर्भमा आएको रामधाम निर्माणको विषयले राष्ट्रकै पर्यटन विकासमा सहयोग पुग्छ । त्यसैले माडीलाई पर्यटकहरुको आकर्षण केन्द्र बनाउन सकियो भने विकासका ढोकाहरु खुल्ले आधार तयार हुन्छन् । यो विषय विकास र आस्थासँग जोडिएको विषय हो ।

माडीमा रामायण र महाभारतकालिन विषयसँग जोडिने धेरै आधारहरु छन् । ती स्थलहरुको प्रचारप्रसार गरी अन्तराष्ट्रियकरण गर्न सकियो भने माडी आस्थाको केन्द्र बन्ने आधारहरु छन् । त्यसैले आस्था र विकासँग जोडिएको यो अभियान सफल बनाउनुपर्छ । यो अभियानलाई अगाडि बढाउँदा माडीका निकुञ्ज, चेपाङ्बस्ती, सुकुम्वासी, बाटो, स्वास्थ्य, शिक्षा लगायतका समस्या समाधान गर्ने मार्गचित्र तयार गरेर अगाडि बढ्नु पर्छ । यो विषयलाई विवादभन्दा पनि छनफलको विषय बनाएर विकास कार्यमा केन्द्रित हुनुपर्छ ।

ई.सूर्यबहादुर भण्डारी, माडी ८ चितवन –

प्रधानमन्त्रीले विस्तृत अध्ययन अनुसन्धान गरेर माडीमा रामधाम बनाउने विषय सार्वजनिक गर्नुभएको हो । माडी विकास गर्ने उद्देश्यसहित राष्ट्र प्रमुखबाट नै अग्रसरता लिने कामलाई मैले सम्मान गर्दै सकारात्मक रुपमा लिएको छु । माडीमा धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरु धेरै भएकाले पर्यटन क्षेत्रको विकास हुन्छ भन्ने लागेको छ । त्यसको लागि वाल्मीकि आश्रमदेखि ठोरीसम्मका स्थलहरुको स्तर उन्नतिको लागि गुरुयोजना तयार गरेर अगाडि बढुनुपर्छ ।

माडीमा निकुञ्ज, यातायात, रोजगार आदि क्षेत्रमा विभिन्न समस्याहरु छन् । ती समस्याहरुलाई समाधान गर्दै समृद्ध माडी बनाउने आधार भएकोले यसलाई अवसरका रुपमा लिएर अगाडि बढुनुपर्छ । रामधामको योजना विकास, आस्था र रोजगारसँग सम्बन्धित भएकोले युवा वर्गमा पनि उत्साह थपेको छ । यसबाट विकासका कार्यहरु अगाडि बढेर रोजगारका अवसरहरु पनि सिर्जना हुन्छन् ।

टि.आर सुवेदी, वडा सचिव, नेकपा, माडी नगरपालिका १ –

प्रधानमन्त्रीज्युले रामधाम माडीमा बनाउँनुपर्छ भनेर गर्नुभएको पहललाई हामीले माडी विकासको आधारको रुपमा लिएका छौं । अझ गहिरिएर अध्ययन गर्ने हो भने माडीलाई मणि बनाउने आधारका रुपमा आएको योजना हो भन्ने मलाई लागेको छ । यसलाई अवसरकै रुपमा लिएर अगाडि बढ्नुपर्छ ।

यसले पर्यटन विकासमा नयाँ आयाम थप्नेछ । त्यसैले वाल्मीकि आश्रमदेखि ठोरीसम्मका धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास गर्दै पर्यटकका लागि गन्तव्य स्थल बनाउनुपर्छ । यो योजना विकास र रोजगारसँग जोडिएको विषय भएको हुनाले सफल बनाउन सबैले सहयोग गर्नुपर्छ ।

दिनेश्वर महतो , सचिव , ललितकला प्रतिष्ठान चितवन –

प्रधानमन्त्रीले चासो दिएर रामधाम निर्माणको विषय अगाडि बढाउनु स्वागत योग्य विषय हो । यसले पर्यटन विकासमा कोशेढुङ्गा बन्ने र माडी विकासको आधार तयार हुन्छ भन्ने मलाई लागेको छ । यसलाई पुरातत्व विभागले सक्रियता लिएर अगाडि बढ्नुपर्छ ।

माडी प्राकृति हिसावले पनि सुन्दर स्थल हो । सुन्दर स्थानमा बन्ने धामले माडीको सुन्दरता थपिन्छ । पर्यटकहरुको आकर्षण केन्द्र बनेर कला संस्कृतिको पनि विकास हुन्छ । त्यसैले यो कला, संस्कृति र सौन्दर्य विकास गर्ने आधार हो । कलाकारको तर्फबाट धामलाई व्यवस्थित र सुन्दर बनाउने कार्यमा हाम्रो सहयोग हुनेछ । यसबाट पर्यटन व्यवसायमा नयाँ फड्को मार्दै समग्र माडी विकास गर्ने माध्यम पनि बन्ने आसा पनि लागेको छ ।

माडीमा वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्धकनाथ, भीमसेन इनार , पाण्डवनगर, सोमेश्वर, वैराठ धुनी, वैकुण्ठे धाम सीताराम गुफा लगायतका धेरै धार्मिक स्थलहरु छन् । यी स्थलहरुको विकासमा पनि ध्यान जानुपर्छ । पर्यटकहरु रमाउने वातावरण तयार गर्नुपर्छ । यसले सबैको कला संस्कृतिको संरक्षण गर्दै रोजगारीको पनि व्यवस्था हुन्छ भन्ने लाग्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>