विचार/ब्लग

बिपतमा बालअधिकार संरक्षणका चुनौती

Banner

बाबुराम दवाडी

‘बिपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाइयो । कोभिड–१९ का कारण यस वर्ष बिगत वर्षहरुमा झै धुमधामरूपमा यो दिवस मनाउन नपाए पनि केन्द्र, स्थानीय तह र विद्यालयहरुले सूचना प्रविधिको प्रयोग गरेर गुगुल मिट, जुम , फेसबुकलगायतका माध्यमबाट हाजिरी जवाफ, वकृत्वकला लगायतका कार्यक्रम गरे । प्रतिभावान बालबालिकाहरुले आआफ्नो क्षमता देखाए र पुरस्कृत भए । वर्तमान विषम परिस्थितिमा धेरै कार्यक्रम गर्न नसक्नु र धेरै बालबालिकालाई समेट्न नसक्नु स्वाभाविक हो ।

बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिका देशका भावी योजनाकार, शिक्षक, प्राध्यापक, कर्मचारी, चिकित्सक , इञ्जिनियर , समाजसेवी र राजनीतिज्ञ हुन् । उनीहरु भोलिका हाम्रा देशका सर्वाङ्गीण पक्षको जिम्मेवारी लिने व्यक्ति हुन् । नेपालमा विसं २०२१ सालदेखि बाल दिवस मनाउन थालिएको हो । विसं २०२१ साल भदौं ४ गते तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह जन्म दिनको अवसरमा नक्सालस्थित बालमन्दिरमा आश्रय लिएका बालबालिकाहरुलाई मिठाई, फलफूल र न्यानो कपडा वितरण गरी पहिलो वर्षको बालदिवस मनाइयो । त्यसपछि हरेक वर्ष देशभर भदौ ४ गते राष्ट्रिय दिवसको रूपमा बाल दिवस मनाउने गरिएको हो । यसरी हरेक वर्ष बाल दिवस मनाउने क्रममा विसं. २०६२ साल भदौ ४ गते ४२ औं बाल दिवस मनाइयो।

देशभरका बालबालिकाको सर्वाङ्गिण विकास गर्न र जोखिममा परेका बालबालिकाहरुको संरक्षण गर्न सबै जिल्लामा काठमाडौ केन्द्रमा नेपाल बाल संगठन र सबै जिल्लामा बाल संगठन खडा गरियो । बाल संगठनको स्थापना वृहत् उद्देश्य राखेर गरिएको भए पनि इच्छाशक्तिको कमी र कानुनी आधार नभएकाले यी बाल संगठनहरुले आशातित काम गर्न सकेनन् । यी बाल संगठनहरुको काम वर्षमा एक, दुईवटा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र भदांै ४ गते बाल दिवस मनाउने काममा मात्र सीमित रह्यो । २०६२ र २०६३ को जनआन्दोलन पछि २०६३ साल भदौ ४ गतेको सट्टा नेपालले अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झना स्वरुप सेप्टेम्बर १४ तारिखका दिन राष्ट्रिय बाल दिवस मनाउन थालियो।

देशभर राष्ट्रिय बाल दिवस मनाइरहँदा राष्ट्रिय बाल दिवसले समेट्न नसकेका केही प्रतिनिधि घटना प्रस्तुत गर्दछु। सुकेटारका १० वर्षका सञ्जय कक्षा ४ मा पढ्छन् । उनका एक भाइ र एक बहिनी छन । उनका आमाबाबु बिहान ६ बजे ढलानको काममा जान्छन् र साँझ ७ बजे फर्कन्छन् । सञ्जय बिहान भाइ र बैनीलाई खाना बनाउने, खुवाउने, भाँडा माझ्ने गरेर ३ वर्षकी बहिनीलाई घर छोडेर भाइसित बिद्यालय जान्छन्। दिउसोको खाजा के हो उनलाई थाहा छैन । बिद्यालयबाट फर्केर भाइबहिनी हेर्ने र आफू, भाइबहिनी र आमाबाबुलाई खाना बनाउने जिम्मा उनकै छ । धनस्वाराकी सलिनाका बाबु विदेश गएको सात वर्ष भयो । गएको छ महिनासम्म खबर आउथ्यो । सलिनाले पनि एक दुई पटक बाबुसँग फोनमा कुरा गरेकी हुन् । त्यसपछि आजसम्म उनका बाबुको कुनै खबर छैन। आमाले कुनै खबर नगरी घर छोडेर गएको पाँच वर्ष भयो । अन्तै कता छन् भन्नेसम्म सुनेकी उनले आमालाई नभेटेको पाँच वर्ष भयो । घरमा ८० वर्षकी हजुरआमा र उनी मात्र छन । आम्दानी केही छैन । छ कक्षामा पढ्ने सलिना बिहान बेलुका र बिदाको दिन काम खोजेर हजुरआमा र उनको खाना जुटाउँछिन्। सीता माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने धनञ्जयको आमाबाबुको हुन् थाहा छैन । राष्ट्रिय निकुञ्ज नजिक झाडीमा सालनालसहित भेटिएका उनलाई निकुञ्ज नजिककै एक वृद्ध आमाले हुर्काइन् । दुई वर्ष अगाडि बृद्ध आमाको निधन भएपछि उनी अझ बेसाहारा बने । पढाइमा अब्बल धन्ञ्जयलाई उनकै विद्यालयका एक शिक्षकले भाडा नलिने गरी एउटा कोठा दिनुभएको छ। गायन, नृत्य, हाजिरीजवाफ, वकृत्वकलालगायतका कार्यक्रममा पुरस्कृत हुने धनञ्जयले पुरस्कार कै रकमले खान लगाउन पु¥याएको एक भेटमा बताए ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । देशभर यस्ता समस्यामा परेका बालबालिका कति छन कति ? अहिले देश कोभिड–१९ को बिपत्तिमा छ भनेर यस वर्षको नारा बिपतमा बाल अधिकारको सुनिश्चितता भनिएको होला । तर, यी माथिका सत्य घटना विश्लेषण गर्दा धेरै बालबालिका आज मात्र होइन हिजोदेखि नै बिपतमा थिए । यस्ता बिपतमा रहेका बालबालिका मध्ये केहीले एसओएस बालग्राम र स्थानीय स्तरमा खुलेका बालगृहमा आश्रय पाएका छन् तर समस्यामा परेका र समस्यामा रहेका सबै बालबालिकालाई एसओएस बालग्राम र स्थानीय बालगृहकहरुले समेट्न सकेका छैनन। केही बालगृहको व्यवस्थापन संबन्धमा बेलाबेलामा प्रश्न समेत उठ्ने गरेको छ।

कोभिड–१९ का कारण नेपाल मात्र होइन विश्व संकटमा रहेको वर्तमान अवस्थामा नेपाल सरकारले तय गरेको ‘बिपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नारा समय सान्दर्भिक र उपयुक्त छ । बिगतमा झै दिवस मनाउने एक दिन र हाजिरी जवाफमा प्रश्न बनाउने काममा मात्र यो नारा सिमित नहोस् ।  वर्तमान विपतको समयमा बालअधिकारको संरक्षण र सम्वद्र्धनमा लाग्नु नै हामी सबैको साझा र एकमात्र कर्तव्य हो । जब प्रत्येक सरकार र प्रत्येक नागरिक बालअधिकारको संरक्षण र सम्वद्र्धनमा आफ्नो कर्तव्य पूरा गर्दछन् र सम्पूर्ण आमाबाबुले आफ्नो कर्तव्य पालना गर्दछन् तबमात्र प्रत्येक बालबालिकाले आफ्नो बाल अधिकारको दाबी गर्न सक्दछन् । हरेक बालबालिकाले आफ्नो अधिकारको दाबी गर्न सक्ने कानुनी र व्यबहारिक रूपमा अवस्था सृजना भएमा बाल अधिकार पूर्णरुपमा सुनिश्चित हुनेछ।

(लेखक दवाडी भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाबाट सेवा निवृत्त कर्मचारी हुनुहुन्छ ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>