Breaking News
भरतपुरको खुल्ला गेष्टहाउस चौरमा पानीको ताल,नहर पुरेर सडक बनाउँदा भयो बेहाल

चितवन, भदौं ३०-
गेष्टहाउस चौरलाई भरतपुरको मुटु मानिन्छ । यस चौरको आफ्नै राजनीतिक इतिहास र गरिमा पनि रहेको छ । चितवनका महत्वपूर्ण सरकारी कार्यालय यसै चौरको वरिपरी रहेकोले पनि भरतपुरको १० नम्बर वडाको गरिमा हिजोदेखि आजसम्म उत्तिकै छ। विभिन्न खेलको अभ्यास गर्नेदेखि विभिन्न धार्मिक र राजनीतिक कार्यक्रम यसै चौरमा हुँदै आइरहेका थिए । अहिले कोरोना संक्रमण बढ्दै गएसँगै चौरमा गत चैतदेखि कुनै पनि कार्यक्रम हुन सकेका छैनन् । विगत केही दिनदेखि निरन्तर पानी पर्दा अहिले गेष्टहाउस चौर क्षेत्रमा पानीको ताल जस्तै बनेको छ । सरकारी कार्यालयहरुमा पनि पानी तालिएको छ ।
भरतपुरको निकै नै व्यस्त रोड मानिने प्रहरी कार्यालय अगाडिबाट हेर्दा अहिले गेष्ट हाउस चौरमा वरिपरीका घरहरुको छाया प्रष्टसँग देख्न सकिन्छ । बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव हुँदै आइरहेको समयमा बहुउपयोगी बनिरहेको गेष्टहाउस चौरको कन्तबिजोग देख्दा हाम्रा जनप्रतिनिधि र महानगरपालिकालाई यसले गिज्याइ रहेको छ । गेष्टहाउस चौरको छेउमा नै रहेको पत्रकार महासंघ चितवनको भवनमा दैनिकजसो आइरहने पत्रकार अनिल ढकाललाई पनि गेष्टहाउस चौरमा तालिएको पानी देखेर दिक्क लाग्छ । उहाँले भन्नुहुन्छ ‘ धेरै दिनदेखि पानी तालिएको छ । महानगरले पानी फालेन ।’ निकासबिनाको विकास हुँदा नै यस्तो भएको उहाँले बताउनुभयो ।
पत्रकार ढकाल त एउटा प्रतिनिधि पात्र हुनुहुन्छ । चौरको नजिकै घर हुने अन्य नागरिकहरुलाई पनि चौरको दुराअवस्था देख्दा नरमाइलो लाग्छ । बिहान मर्निङ वाकदेखि योगा अभ्याससम्म गर्ने चौरमा अहिले पानी तालिँदा सबैलाई असजिलो भएको छ । २०४० सालदेखि सोही क्षेत्रमा बसोबास गर्दै आउनुभएको सामाजिक अभियन्ता भरत दवाडीले सिँचाइ गर्ने भनेर ल्याएको नहर पुरिँदा पानीको निकास नभएकोले यस्तो अवस्था आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘ भरतपुरका नीति निर्मातामा दीर्घकालिन सोच नहुँदा यो अवस्था आएको हो । भूउपयोग नीति नभएकोले र महानगरपालिकाका नेताहरुको सोच नै निकम्मा भएकोले यस्तो अवस्था आएको हो ।’
खेतीमा निर्भर रहेको भरतपुर क्षेत्रका सम्पूर्ण जग्गा घडेरीमा बिक्री हुन थालेपछि मानिसहरुले नहरको आवश्यकता देखेनन् । सिँचाइको लागि उपयोग भएको नहरमा पानीको सजिलै निकास हुन्थ्यो तर नहरमाथि सडक र कयौं सरकारी कार्यालयहरु बने । जुन अदुरदर्शी कामको परिणाम अहिले नागरिकहरुले भोग्दै छन् ।
भरतपुर महानगरपालिका भने यो गल्ती अहिलेको जनप्रतिनिधिले नगरी धेरै वर्ष अगाडिदेखि भएको बताउँछ । भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले यो समस्या अहिलेको जनप्रतिनिधिको कारणले नभई पहिलेबाट नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ गेष्टहाउस चौर सडकको तहभन्दा दुई मिटर होचो भएकोले पनि पानीले निकास नपाउँदा तालिएको हो । पञ्चहरुको पालादेखिनै नहरमा बाटो बनाइएको छ । ढलहरु पर्याप्त बनेनन् ।’ उहाँले जिल्ला प्रहरी कार्यालय चितवन नहरमाथि बनेको बताउनुभयो । पवक्ता भण्डारीले भन्नुभयो, ‘अर्को वर्षसम्म यस्तो परिस्थिति बन्दैन । हामी योजना बनाउँदैछौं । ढल निर्माणलाई प्राथमिकता दिएर बजेटको पनि व्यवस्था गरेका छौं, हामी प्रयत्नरत छौं ।’ उहाँले अहिले त्यो पानीलाई फालेर पनि सम्भव नभएको बताउनुभयो । जे होस् गेष्टहाउस चौरलाई समयमा नै सम्बवद्र्धन र संरक्षण गर्न सके भरतपुरको सौन्दर्य बढ्नेमा कसैको दुईमत रहँदैन ।
























