Breaking News

माडी अयोध्याधाम बहसः के भन्छन् पर्यटन व्यवसायीहरु ?

Banner

प्रस्तुतिः नारायण सापकोटा,

माडीमा अयोध्याधाम बनाउने विषयमा माडीमा मात्र होइन् देशभर नै चर्चा र बहसको विषय बनेको छ । राजनीतिक दल, सामाजिक व्यक्तित्व, महिला अगुवा, धार्मिक व्यक्तित्वहरुले आफ्ना धारणाहरु सार्वजनिक गरिरहेका छन् । अधिकांशले अयोध्याधाम निर्माणको विषयलाई पर्यटन र विकाससँग जोडेर माडीको समग्र विकास गर्ने अवसरको रुपमा लिनुपर्ने धारणा राखेका छन् । माडीमा राष्ट्रिय निकुञ्ज, चेपाङ बस्ती, रिउ करिडोर, सुकुम्वासी समस्या, कृषि उत्पादन, पर्यटनका क्षेत्रमा अनेकौ समस्या छन् । रामधाम निर्माण गर्ने काम अगाडि बढाउँदा उल्लेखित समस्याहरु समाधान गर्ने गुरुयोजना तयार गरी अगाडि बढ्नुपर्ने धारणा अगाडि आएको छ । रामधाम बनाउने विषयमा बहस चलिरहँदा आएका विचारहरुलाई सङ्कलन गरी सार्वजनिक गर्ने सम्बन्धमा यसपटक पर्यटन विकासको क्षेत्रमा लागिरहनुभएका व्यक्तित्वहरुका विचारलाई समावेश गरिएको छ । छलफलममा आएका विचारहरुलार्ई सार्वजनिक गर्दै जाने लक्ष्य पनि रहेको छ ।

डा. धनञ्जय रेग्मी, केन्द्रीय अध्यक्ष, पर्यटन विकास समिति –

प्रधानमन्त्रीले नै अग्रसरता लिएर माडीमा रामधाम बनाउने योजना अगाडि बढाउने कार्यलाई हामीले सकारात्मक रुपमा लिएका लिएका छौं । यो विषय नेपालकै पर्यटन प्रवद्र्धन गर्ने आधार हो । त्यसैले हामीले पनि प्रधानमन्त्रीको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छौंं । हामीले त रामधाम बनाउने अभियानमा रामायण सर्किट निर्माण गर्नुपर्छ भनेर वजेट नै विनियोजन गरी अगाडि बढेका छौं । कोभिडको कारण अवस्था प्रतिकूल भएकोले अभियानलाई अगाडि बढाउन कठिनाई भएको छ । अवस्था अनुकुल भएपछि माडीमै जाने योजना बनाएका छौं । प्रधानमन्त्रीको रामधाम बनाउने योजना विकास र राष्ट्रियतासँग जोडिएको विषय हो । यो अभियानलाई सफल बनाउन सम्पूर्ण नेपालीहरु जागरुक हुनुपर्छ ।

माडीका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयलाई आधार मान्ने हो भने पनि रामको जन्म माडीमा भएको हुनसक्ने आधारहरु छन् । त्यसैले वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्धक, सोमेश्वर लगायतका धार्मिक स्थलहरुको विकास गर्ने योजनासहित काम अगाडि बढाउनुपर्छ । यो अभियानले पर्यटनको विकासमा होइन समग्र देशकै विकासका सहयोग पुग्छ भन्ने मलाई लागेको छ ।

विश्व सुवेदी, सल्लाहकार, पर्यटन विकास समिति भरतपुर महानगरपालिका–

प्रधानमन्त्रीले नै चासो दिएर रामधाम निर्माणको अभियानलाई अगाडि बढाउनु स्वागत योग्य कार्य हो । राष्ट्र प्रमुखले नै बढाएको अभियानमा सबैको चासो र सहयोग हुने भएकोले पनि सफल बनाउन पनि सजिलो हुन्छ । यो विकाससँग जोडिएको विषय हो । यसले पर्यटन मात्र होइन समग्र क्षेत्रकै विकास हुन्छ । यो अभियानलाई पुरातत्व विभागको समन्वयमा अगाडि बढाउनुपर्छ ।

माडीमा पर्यटन विकासका सम्भावनाहरु धेरै छन् । त्यसमा पनि प्रधानमन्त्रीको अभियानले त धार्मिक पर्यटकहरु ओइरिने बाटो देखाएको छ । त्यसैले रामधामको निर्माण गर्दा माडीमा बाह्य पर्यटकहरु आउनको लागि वातावरण सहज बनाउनुपर्छ । माडीका वाल्मीकि आश्रमदेखि ठोरीसम्मका धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास गर्दै पर्यटकका लागि गन्तव्य स्थल बनाउनुपर्छ । यो अभियान विकास गर्ने अवसर पनि हो । यसले पर्यटन विकासमा नयाँ आयाम थप्नेछ ।

पुरन महतो, अध्यक्ष, पर्यटन विकास समिति माडी नगरपालिका –

रामको जन्मभूमिका सम्बन्धमा छिमेकी देश भारतमा पनि अनुसन्धान भइरहेको सन्र्दभमा नेपालमा पनि अध्ययनको काम अगाडि बढाउनु सकारात्मक कार्य हो । सम्माननीय प्रधानमन्त्रीले लिनुभएको अग्रसरताले माडीको समग्र विकास गर्ने आधार तयार हुन्छ भन्ने मलाई लागेको छ । पर्यटन क्षेत्र माडी विकासको आधार भएकोले रामधाम निर्माणले पर्यटकहरुलाई आकर्षण गर्ने आधार तयार हुन्छ ।

माडीमा धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरु धेरै छन् र वाल्मीकि आश्रमदेखि ठोरीसम्मका स्थलहरुको स्तरउन्नतिको लागि गुरुयोजना तयार गरी अगाडि बढ्नुपर्छ । रामधाम निर्माण गर्दा माडीका समस्या ओझेलमा पर्छन् भन्ने केही साथीहरुको चिन्ता पनि छ । माडीका समस्या थाती राखेर रामधामा मात्र बनाउने पटक्कै होइन् । माडीका समस्या समाधान नभई माडी विकास हुन पनि सक्दैन् । त्यसैले माडीका सारा समस्या समाधान गर्ने आधार तयार गर्दै रामधामको निर्माण गर्नुपर्छ । यो माडी विकासको अवसर हो । माडीलाई मणि बनाउने विषयलाई पनि यसले सम्बोधन गर्छ भन्ने मलाई लागेको छ ।

गोपाल श्रेष्ठ, अध्यक्ष, होटल व्यवसायी संघ,माडी–

प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको रामधाम निर्माणको विषय पर्यटन व्यवसायीको मात्र नभएर समग्र माडी विकासको आधार हो । यसले माडीका समग्र समस्याहरुलाई सम्बोधन गर्दै माडीको मुहार परिवर्तन हुन्छ भन्ने मलाई लागेको छ । रामधाम निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण केन्द्र बन्छ । जसका कारण पर्यटन व्यवसाय विकास हुन्छ र रोजगारका आधारहरु पनि तयार हुन्छन् ।

रामधाम निर्माणको विषय धर्म, कला, संस्कृति संरक्षण गर्नुका साथै जनताको आय आर्जनसँग जोडिएको छ । त्यसैले यो अभियानलाई सहयोग गर्न हामी होटल व्यवसायीहरु तयार रहेका छौं । अहिले माडीमा धेरै समस्या छन् । रामधाम निर्माणको कार्य अगाडि बढाउँदा निकुञ्ज, चेपाङ्बस्ती, आदिवासी जनजातिका समस्याहरु समाधान गर्दै अगाडि बढ्नुपर्छ ।

रामनारायण चौधरी , सञ्चालक माडी भिलेज एण्ड रिसोर्ट माडी चितवन –

प्रधानमन्त्रीले नै अगाडि बढाउनुभएको रामधाम निर्माणको विषय माडी विकास गर्ने अवसरका रुपमा मैले लिएको छु । यसबाट पर्यटन व्यवसायले त नयाँ फड्को नै मार्छ भन्ने लागेको छ । त्यसैले यो विषय समग्र माडी विकास गर्ने माध्यम पनि बन्ने आसा पनि लागेको छ ।

माडीमा वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्धकनाथ, भीमसेन इनार , पाण्डवनगर, सोमेश्वर, वैराठ धुनी, वैकुण्ठे धाम सीताराम गुफा लगायतका धेरै धार्मिक स्थलहरु छन् । यी स्थलहरुको विकासमा पनि ध्यान जानुपर्छ । पर्यटकहरु रमाउने वातावरण तयार गर्नुपर्छ । यसले सबैको कला संस्कृतिको संरक्षण गर्दै रोजगारीको पनि व्यवस्था हुन्छ भन्ने लाग्छ ।

प्रेम भुसाल, सञ्चालक, होटल प्याराडाइज माडी –

प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको रामधाम बनाउने योजना माडी विकासको पुर्वाधार हो भन्ने मलाई लागेको छ । यो विषय पर्यटन विकासको त मुख्य आधार भएकोले हामीले अवसरको रुपमा लिएका छौं । यतिबेला माडीमा निकुञ्ज, चेपाङ्,सुकुम्वासी लगायतका समस्या छन् । यो अभियानले माडीको विकास गर्दै राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा माडी चिनाउने आधार पनि बन्छ ।

यतिबेला पर्यटन क्षेत्रमा गम्भीर समस्या छ । व्यवसाय धरासयी बनेको छ । रामधाम निर्माणको कार्य अगाडि बढिरहँदा पर्यटन व्यवसायको विकासमा ठुलो टेवा मिल्ने आशा रहेको छ । त्यसैले यो विषयलाई निष्कर्षमा पु¥याउन सबैको सहयोग अपरिहार्य छ ।

सीता तिमिल्सिना, सञ्चालक तिमिल्सिना होटेल एण्ड लज, माडी १ चितवन –

माडी विकासको लागि विभिन्न आधारहरु आवश्यकता छ । रामधाम बन्ने विषय माडी विकासको आधार बनेर आएको छ । यो अवसरको सदुपयोग गर्नुपर्छ भन्ने मलाई लागेको छ । रामधाम निर्माणको विषयले माडीमा पर्यटन विकासका ढोकाहरु खोल्ने सम्भावनाहरु रहेका छन् ।

माडीमा पर्यटन विकास गर्ने धेरै आधारहरु रहेकाले वाल्मीकि आश्रमदेखि ठोरी सम्मका पर्यटकीय स्थलहरुको विकास गर्ने र पर्यटकहरुका लागि नयाँ गन्तव्य तयार गर्नुपर्छ । पर्यटकहरुका लागि आकर्षण स्थलहरु निर्माण गर्नुपर्छ । रामधाम निर्माणले देश विदेशका पर्यटकहरु माडीमा आउने आधारहरु तयार हुने भएको सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।

सरिता बोट, सञ्चालक नमूना बोटे होमस्टे माडी १ चितवन –

प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको माडीमा रामधाम बनाउने योजना माडी विकासको आधार नै हो जस्तो लाग्छ । माडीमा पर्यटन विकास गर्ने धेरै आधारहरु रहेका छन् । वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्धकनाथ, सोमेश्वर, वैकुण्ठेधाम लगायतका स्थलहरु छन् । ती सबैको स्तर उन्नति गर्नुपर्छ । पर्यटकहरु लोभिने स्थलहरु निर्माण गर्नुपर्छ ।

माडीमा धेरै कला संस्कृतिहरु रहेका छन् । कतिपय संस्कृति त लोप हुने अवस्थामा पनि छन् । कला संस्कृतिहरु पर्यटन विकासका आधार भएकोले संरक्षण र विकासमा ध्यान दिनुपर्छ । रामधाम निर्माणको विषयसँगै माडीका समग्र समस्याका साथै कला संस्कृति संरक्षण गर्नुपर्छ ।

गोविन्दप्रसाद काफ्ले, सञ्चालक होटेल हरिहर, माडी ३ चितवन –

प्रधानमन्त्रीले माडीमा रामधाम बनाउनको लागि लिनुभएको अग्रसरतालाई मैले सकारात्मक रुपमा लिएको छु । यो विषयले माडीको पर्यटन क्षेत्रमा विकास हुन्छ भन्ने लागेको छ ।

माडीको पर्यटन विकास गर्नको लागि स्थानीय उत्पादनलाई जोड दिने र अन्य ठाउँका भन्दा भिन्न खानेकुरा तयार गरी पर्यटकहरु लोभिने वातावरण तयार गर्नुपर्छ । त्यसको लागि प्राविधिक ज्ञान र तालिकको क्षेत्रमा सहयोग हुनुपर्छ । रामधाम निर्माणले पर्यटकहरु आकर्षित हुने आधार तयार हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>