Breaking News

सिएमसी क्यान्टिन संचालकको चरम लापरवाही, कामदारमा कोरोना देखिएपछि पनि नियमित संचालन

Banner

चितवन, भदौं १४–

चितवन मेडिकल कलेजको भित्री भागमा रहेको क्यान्टिनका संचालकसहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्यान्टिनमा दिनरात काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएपनि क्यान्टिन निरन्तर संचालनमा थियो । संक्रमित व्यक्तिसंगै बस्दै आएका व्यक्तिहरुलाई परीक्षण नै नगरी क्यान्टिन संचालनमा खटाइएपछि चौतर्फी बिरोध भयो । जसका कारण हिजो (सोमबार)बाट चितवन मेडिकल कलेज प्रशासनले क्यान्टिन बन्द गराएको छ ।

अस्पतालका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले क्यान्टिनका कर्मचारीमा संक्रमण देखिएको जानकारी पाएपछि बन्द गरिएको बताए । उनले भने–‘हामीले कोरोना संक्रमणबारे थाहा पाउने बित्तिकै बन्द गराएका हौं ।’ यसबारे चितवन प्रशासनले समेत थाहा पाएपछि प्रशासनकै आदेशमा चितवन मेडिकल कलेजले क्यान्टिन बन्द गरायो ।

सिएमसी प्रशासनलाई चुनौती दिँदै क्यान्टिनका संचालक कृष्णराज न्यौपाने ‘लब्ली’ले कर्मचारीमा संक्रमण देखिएपनि निरन्तर क्यान्टिन संचालन गरेका थिए । उनी नेकपा चितवनका नेता हुन् । यही दम्भ देखाएर स्थानीयबासीलाई धम्क्याउदै क्यान्टिन चलाइरहेका थिए ।

भरतपुर महानगरपालिका–१० चितवन मेडिकल कलेज पछाडी रहेको शान्तिइन्द्रेणी टोलमा क्यान्टिनमा काम गर्ने संक्रमित व्यक्तिहरुको बसोबास थियो । एउटा घरमा दुई परिवारको बसोबास थियो । संक्रमितहरु एउटै कोठामा ५ जना बस्थे । जसमध्ये दुई जनामा संक्रमण देखियो भने अन्य तीन जनामा देखिएन । उनीहरुसंगै रहेको अर्को कोठामा पनि सोही क्यान्टिनमा काम गर्ने कर्मचारी बस्दै आइरहेका थिए । उनीहरु दुई वटै परिवारले एउटै धारा र शौचालय प्रयोग गर्दै आइरहेका थिए । यस्तो अवस्थामा ती घरमा बसोबास गर्ने सबै केही साता होम क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गर्नुपर्दथ्यो । तर त्यसो भएन ।

संचालक ‘लब्ली’ले आफ्नो दम्भ देखाउँदै ती व्यक्तिहरुलाई निरन्तर क्यान्टिनमा खटाए । उनीहरु सबैलाई होम क्वारेन्टिनमा राख्न र आवश्यक परेको खण्डमा सबै किसिमको सहयोग गर्न तयार रहेको स्थानीयबासीले भनेपछि उनी आफ्नो दम्भ देखाउँदै कसैको कुरा सुनेनन् । अहिले स्थानीय समेत रुष्ट छन् ।

संक्रमित बस्ने घरसंगै रहेका स्थानीय नहेन्द्र खड्काले आफूले राम्रोसंग सबै किसिमको सहयोग गर्ने भनेर सम्झाउँदै उल्टै हप्की सहुन परेको बताए । उनले भने–‘सबै एउटै ठाउँमा बसेकाले होम क्वारेन्टिनमै बस्न आग्रह गरेका थियौं, तर क्यान्टिनका संचालकले काममा खटाउनुभयो ।’ उनले टोलबासीको नाताले सतर्कता अपनाउन आग्रह गर्दा उल्टै गालीगलोज सहनुपरेको दुखेसो गरे ।

टोलका अध्यक्ष ऋषि थापाले टोलबासीलाई सतर्कता अपनाउन आग्रह गर्दै संक्रमितलाई हौसला प्रदान गर्नुपर्ने बताए । उनले टोलमा देखिएका संक्रमितसंगै बसोबास गर्नेलाई सुक्षित भएर बस्न आग्रह गरे । उनले भने–‘अस्पताल नजिकैको टोल भएकाले जोखिम नै छ, हामी सबैलाई हौसला प्रदान गर्नुपर्छ, तर सतर्कता अपनाउन कसैले छोड्नु हुन्न ।’

समाजसेवी, नेता भनेर चिनिएका लब्लीले संक्रमितसंग बस्नेलाई पीसीआर परीक्षण बिना नै सुटुक्क मेघौली पठाएको समेत स्थानीयले बताएका छन् । यस्तो कार्यले बुझ्ने मान्छेले नै समाजमा कोरोना फैलाउन सक्ने स्थानीयको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>