चितवन विशेष
चितवन मेडिकल कलेजले सबै कर्मचारीको निःशुल्क पिसिआर गर्ने

चितवन,भदौं १६-
चितवन मेडिकल कलेज (सिएमसी) ले सबै कर्मचारीहरुको निःशुल्क पिसिआर परिक्षण गर्ने भएको छ । आज एक सूचना जारी गर्दै कलेजले नागरिकको उपचारमा दिनरात खटिएका कर्मचारीमा कोभिड पोजेटिभ हुनसक्ने खतरालाई मध्यनजर गर्दै सबै कर्मचारीको निःशुल्क परीक्षणको व्यवस्था गर्न लागेको जनाएको छ ।
कलेजका प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले यदि कसैलाई कोरोना पोजेटिभ भइहाले परिवार र समाजमा सर्न नदिन सबैको पिसिआर परिक्षण गर्न लागेको जानकारी दिनुभयो । उहाँले कोभिड १९ को जोखिममा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई अस्पतालले अतिरिक्त भत्ताको व्यवस्था समेत गरेको बताउनुभयो ।
पिसिआर गर्नका लागि कर्मचारीलाई अस्पताल प्रशासनमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । सिएमसीले स्वास्थ्यकर्मी र कर्मचारीका लागि क्वारेन्टिन र आइसोलेसनको समेत व्यवस्था गरेको छ । कलेजमा १५ सय ७० जना स्वास्थ्यकर्मी र कर्मचारी छन ।
























