Breaking News
कोरोना नियन्त्रणमा स्थानीय सरकारः चितवनमा नौ करोड बढी खर्च

मधुसूदन दवाडी
चितवन, भदौं १२–
चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच सय नजिक छ । अहिले चितवनका सात वटै स्थानीय तहमा संक्रमितको संख्या बढिरहेको छ । ६ नगरपालिकाले नियन्त्रणमा सक्दो प्रयास गरिरहे पनि रोकथामको लागि प्रभावकारी काम भने हुन सकेको छैन ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले मंगलबार दिउँसो जारी गरेको सूचनामा चितवनमा कुल संक्रमितको संख्या ४०० पुगेको उल्लेख गरेका थिए । त्यसपछि थपिएका समेत जोड्दा बिहीबार साँझसम्ममा संक्रमितको संख्या ४७१ पुगेको छ । संक्रमितमध्ये १२८ जना मात्रै निको भएर घर फर्केका छन् । चितवनकै तीन जना निधन भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि चितवनका ६ वटै नगरपालिकाले अहिले निषेधाज्ञा जारी गरेका छन् ।
विदेशबाट आउनेहरुमा मात्र सुरुमा कोरोना संक्रमण देखिए पनि अहिले चितवनमा स्वास्थ्यकर्मीहरुलगायत समुदायस्तरमा संक्रमणको दर बढ्दै गएको छ । नागरिकलाई कोरोनाको महामारीबाट जोगाउने दायित्व सरकारी निकायको भएकोले पनि चितवनका ६ नगरपालिकाले कसरी कोरोनाको संक्रमण नियन्त्रण प्रयास गरिरहेका छन् भन्ने सबैलाई चासोको विषय बनेको छ ।
१) भरतपुर महानगरपालिकाः
भरतपुर महानगरपालिका जनघनत्व र जनसंख्याको हिसाबले चितवनको सबैभन्दा ठूलो नगरपालिका भएकोले पनि भरतपुरमा कोरोना संक्रमणको दर अन्यत्र भन्दा बढी नै छ । महानगरपालिकाले २९ वटै वडामा ४९ वटा क्वारेन्टिनको स्थापना गरेको छ । संक्रमितको संख्या अहिले बढ्दै जाँदा पछिल्लो दिनमा संक्रमितलाई घरमै राख्नुपर्ने अवस्था पनि बनेको छ । कोरोना संक्रमणसँगै सरकारले लकडाउन गरेपछि चिनियाँ मोडलको कोरोना अस्पताल भनेर महानगरपालिकाले निर्माण गरेको कोरोना अस्पतालले देशभर निकै चर्चा पाएको थियो । तर, स्थापना भएको केही समयमा नै राजनीतिक खिचातानीले अस्पताललाई भरतपुर अस्पताल अन्तर्गत नै ल्याइयो ।
भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी अस्पताल सञ्चालन गर्ने काम प्राविधिक काम भएकोले जनप्रतिनिधिले अस्पताल चलाउन नसक्ने भएकोले केन्द्रीय अस्पतालअन्तर्गत ल्याइएको बताउनुहुन्छ । भरतपुर महानगरपालिकाले आर्थिक पारदर्शितालाई मुख्य काम गरिरहेको उहाँको दाबी छ ।
त्यस्तै, भरतपुर महानगरपालिकाले बागेश्वरी आध्यात्मिक परिषद्को योगी नरहरिनाथ आश्रममा अहिले आइसोलेसन सेन्टर निर्माण गरेको छ । सेन्टरलाई महानगरपालिकाले निश्चित रकम उपलब्ध गराउने छ । जहाँ २०० जनासम्म आइसोलेसनमा राख्न मिल्ने जनाइएको छ । यसकेन्द्रको सञ्चालनको लागि महानगरपालिकाको प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा एउटा समिति पनि गठन गरिएको छ । समितिको सल्लाहकारमा चितवनका प्रदेश सांसदहरु विजय सुवेदी, मिलनबाबु श्रेष्ठ र घनश्याम दाहाल रहेका छन् । विभिन्न जिल्लाबाट उपचारको लागि संक्रमितहरु चितवन आउने भएकोले उनीहरुको लागि प्रशासन कार्यालयले होल्डिङ सेन्टर बनाउनु पर्ने तर त्यस्तो छैन ।
भरतपुर महानगरपालिकाले भदौं ५ गतेसम्म जम्मा कोरोना नियन्त्रणमा तीन करोड १३ लाख ८३ हजार ८११ रुपैयाँ खर्च गरेको छ । महानगरबाट प्रकाशित बुलेटिनअनुसार भरतपुर महानगरमा कोरोना नियन्त्रणका कोषमा जम्मा तीन करोड १९ लाख एक हजार ६९९ रुपैयाँ जम्मा भएको थियो । जसमा महानगरले एक करोड ५० लाख, प्रदेशबाट २० लाख रुपैयाँ, संसद विकास कोषबाट २५ लाख ९० हजार ५२८, दाताबाट ६ लाख एक हजार १७१ र कोरोना अस्पताल निर्माणका लागि प्रदेशबाट एक करोड रुपैयाँ प्राप्त भएको थियो ।
२) रत्ननगर नगरपालिका:
भरतपुर महानगरपालिकापछि सबैभन्दा धेरै जनघनत्व र जनसंख्या भएको नगरपालिका चितवनको रत्ननगर नगरपालिका हो । रत्ननगरमा ९ वटा क्वारेन्टिन रहेका छन् भने विद्यालयमा रहेका क्वारेन्टिनहरु नगरपालिकाले हटाएको छ । पहिले चोकचोकमा खुलेका क्वारेन्टिनहरुलाई रत्ननगर नगरपालिकाले अहिले व्यवस्थित गर्दै गएको देखिन्छ । कोरोना संक्रमितको दर बढ्दै गएपछि पूर्वी चितवनका तीन नगरपालिका मिलेर रत्ननगरको झुवानीमा ६० जना राख्न मिल्ने आइसोलेसन सेन्टर स्थापना गरिएको छ । जहाँ कोरोना संक्रमितहरु राख्न थालिएको रत्ननगरमा नगर प्रमुख नारायण वनले बताउनुभयो । उहाँले नगरपालिकाले कोरोना नियन्त्रणमा गरेको खर्च पारदर्शी भएको जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाका प्रशासकीय अधिकृत टुवराज पोखरेलले रत्ननगर नगरपालिकाले अहिलेसम्म कोरोना नियन्त्रणमा एक करोड ५० लाख रुपैयाँ जति खर्च भएको बताउनुभयो । उहाँले सुरुमा राहतमा अन्य नगरपालिकाको तुलनामा धेरै ८० लाख रुपैयाँ बाराबरको राहत वितरण गरिएकोले पनि धेरै भएको जानकारी दिनुभयो ।
३) खैरहनी नगरपालिका:
खैरहनी नगरपालिकाले अहिले क्वारेन्टिनको व्यवस्थापन, संक्रमितहरुको खोजी र स्वाब संकलनलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले पूर्व चितवनका चारवटा नगरपालिका मिलेर संयुक्तरुपमा कोरोना नियन्त्रणमा मिलेर काम गर्न आइसोलेसन केन्द्र निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशबाट आउनेहरुलाई खैरहनी माध्यमिक विद्यालयमा होल्ड गर्ने गरेका छौं । क्वारेन्टिनको रुपमा राधा स्वामी सत्सङ भवन ३० बेड र खानेपानी भवनमा १० वटा कोठा खाली गराएका छौं ।’ उहाँले टोल विकास संस्था र वार्ड–वार्डबाट सूचना लिएर काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले कोरोना संक्रमण नियन्त्रणको लागि भएका सम्पूर्ण खर्च पारदर्शीरुपमा सार्वजनिक गर्ने गरेको जानकारी गराउनुभयो । नगरपालिकाले टेन्डर निकालेर खाद्यान्न खरिद गरेर ७४ लाख रुपैयाँको राहत वितरण गरेको छ भने जम्मा कोरोना नियन्त्रणमा एक करोड तीन लाख रुपैयाँ जति लगभग खर्च भएको छ । अझै केही भुक्तानी गर्न बाँकी नै रहेको छ । राधास्वामी सत्सङ भवनले कोरोना संक्रमितहरु तथा क्वारेन्टाइनमा रहेकाहरुलाई आफैले खाना र खाजाको व्यवस्था गर्दा नगरपालिकालाई धेरै सजिलो भएको मेयर चौधरीले बताउनुभयो ।
४) राप्ती नगरपालिकाः
पूर्वी चितवनको हेटौडासँग सीमाना जोडिएको नगरपालिकामा राप्ती नगरपालिकाले अन्य नगरपालिकाजस्तै कोरोना नियन्त्रणमा आफूले पनि सक्दो पहल गरिरहेको छ । नगरपालिकाभित्र तीन वटा क्वारेन्टिन सञ्चालनमा रहेका छन् जहाँ ३२२ जना बसिरहेका छन् । जसमध्ये ३११ जना घर फिर्ता भइसकेका छन् ।
भदौं ८ गतेसम्म नगरपालिकामा ७७५ जनाको स्वाब संकलन गरिएको छ जसमा ५३१ ज्नको पीसीआरको रिपोर्ट आएकोमा २२ जनाको पोजिटिभ र ४४९ जनाको नेगेटिभ आएको छ । जसमध्ये ७ जना निको भएर घर फर्किएका छन् ।
राप्ती नगरपालिकाभित्र नै पर्ने भण्डारामा रहेको सशस्त्र प्रहरी गणमा ५२ जनामा कोरोना पोजिटिभ देखिएकोमा सबैलाई गणभित्र नै व्यवस्थापन गरिएको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले बताउनुभयो । उहाँले राप्ती नगरपालिकाले साउनको २५ गतेसम्ममा एक करोड ४९ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च गरेको जानकारी दिनुभयो । राप्ती नगरपालिकाले भरतपुर अस्पताललाई पाँच लाख रुपैयाँ सहित एम्बुलेन्स चालकहरुलाई पनि भत्ता दिएको छ ।
५) माडी नगरपालिकाः
चितवनको दक्षिणी क्षेत्रमा भारतसँग सिमाना जोडिएको नगरपालिका माडी नगरपालिका हो । सुरुका दिनमा भारतबाट आएका धेरै जनामा कोरोना संक्रमण धेरै देखिए पनि पछिल्लो समयमा माडीमा संक्रमणको दर भने केही घटेको छ । बुधबार राति गरिएको परीक्षणमा लामो समयपछि माडीमा ९ जना संक्रमित थपिएका छन् ।
अहिले माडी भन्दा पनि भरतपुर महानगरपालिका क्षेत्रमा कोरोना संक्रमण दर बढ्दै गएपछि भरतपुरबाट माडी आउने नागरिकहरुलाई नगरपालिकाले विशेष निगरानी राख्ने रणनीति तयार गरेको छ । नगरपालिकाले वार्ड–वार्डमा वडास्तरीय कोरोना रोकथाम नियन्त्रण समिति बनाएको छ भने त्यत्तिकै संख्यामा पनि स्वयंसेवकहरु परिचालन गरेको छ । सामुदायिक होमस्टे थरथरेमा २० बेड क्षमताको आइसोलेसन सेन्टर बनाएको छ भने राधापुरमा क्वारेन्टिन रहेको छ । कतिपयलाई होम क्वारेन्टिनमा बस्न सक्ने पनि नगरपालिकाले व्यवस्था गरेको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो ।
प्रमुख ढकालले माडी नगरपालिकाले निषेधाज्ञा घोषणा गरे पनि यसको मोडलबारे बेग्लै ढंगले सोच्नुपर्ने बताउनुभयो । नगरपालिकाले विद्यालयहरुमा रहेका आइसोलेसन वा क्वारेन्टिनहरु ह्टाउँदै गएको जानकारी दिनुभयो । माडी नगरपालिकाले क्वारेन्टिनहरुको व्यवस्थापन र राहतमा झण्डै एक करोड रुपैयाँ खर्च गरेको छ ।
६) कालिका नगरपालिका:
कालिका नगरपालिकाले कोरोना नियन्त्रणमा गरेको प्रयासहरु अन्य नगरपालिकाको भन्दा खासै फरक देखिँदैन । चितवनका सबै नगरपालिकाका प्रयासहरु एकै प्रकारका देखिन्छन् । यस नगरपालिकाले पनि नगर क्षेत्रमा ९ वटा क्वारेन्टिनहरु निर्माण गरेको छ । अहिले क्वारेन्टिनमा २ जना मात्र बसेका छन् र अन्य क्वारेन्टिन स्थलहरु खाली नै छन् । आइसोलेसनको कुरा गर्दा नगरपालिकाले अन्य नगरपालिकासँग मिलेर रत्ननगरको झुवानीमा आइसोलेसन केन्द्र बनाएको छ । अहिलेसम्म कालिकामा १५ जना संक्रमित देखिएका छन् जसमध्ये एक जना मात्र आइसोलेसनमा रहेका छन् । नगरपालिकाले कोरोना नियन्त्रणमा भएको खर्चको हिसाबकिताब गरिसकेको छैन । वडा वडामालाई निश्चित बजेट उपलब्ध गराएको छ । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ ‘गोपी’ ले कोरोना संक्रमितबारेको सूचना दिनमा स्थानीय टोल विकास संस्थाले पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँ नेपालीहरु भनेको नमान्ने भएकोले जारी निषेधाज्ञालाई लम्ब्याउनुपर्ने पक्षमा हुनुहुन्छ । कालिका नगरपालिकाका प्रशासन प्रमुख यज्ञ पुरीका अनुसार नगरपालिकामा जम्मा राहत वितरणमा झण्डै ४५ लाख रुपैयाँमा र क्वारेन्टिनहरुको व्यवस्थापनमा ५२ लाख रुपैयाँ खर्च भएको छ ।
के भन्छन् बौद्धिक वर्ग?
नगरपालिकाले गरेका कामकारबाहीमा आमसर्वसाधारण र बौंद्धिक वर्ग भने धेरै सन्तुष्ट हुन सकेका छैनन् । एकातिर कोरोना परीक्षण भरतपुरमा मात्र केन्द्रित हुँदा परीक्षण रिपोर्ट आउन झण्डै १० दिन जति लाग्नु आफैँमा विडम्वनापूर्ण कार्य हो । अन्य स्थानीय तहमा पीसीआर मेसिन अहिलेसम्म स्थापना हुन सकेको छैन । भरतपुरका विभिन्न कोरोना नियन्त्रण अभियानलाई नजिकबाट निहालिरहनु भएका व्यवस्थापन विषयका विज्ञ कपिलदेव सुवेदीले स्थानीय तहका कामकारबाहीमा ढिलासुस्ती भएको बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘कोरोना कहिले आउँछ भनेर पूर्वाधारहरुको व्यवस्था नगरी बस्दा कोरोना संक्रमण फैलिँदै गएको छ । रत्ननगरमा पीसीआर मेसिन ल्याउन मैले सल्लाह दिएको हो तर अहिलेसम्म पहल भएको छैन ।’ उहाँले खर्च गर्ने ठाउँमा नगरपालिकाहरुको खर्च नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तीन तहको सरकारको बीचमा खासै समन्वय देखिएन । स्थानीय तहहरु अहिलेसम्म अलमलमा छन् । अझै नागरिक सचेत नबन्ने हो भने चितवन कोरोनाको हटस्पट नै होला जस्तो छ ।’
बोस्टन इन्टरनेशनल कलेजका एमबीए कार्यक्रम संयोजक ऋषि चापागाइँ पनि कोरोना नियन्त्रणमा स्थानीय तहले गरेको खर्च र काम कारबाहीको बारेमा अध्ययन गरिरहनु भएको छ । उहाँले भन्नुभयो, ‘भरतपुर अस्पतालमा कोरोना अस्पताल निर्माण गरियो भनेर निकै चर्चा पायो तर त्यसले काम गर्न सकेन । अस्पताल बनाउन ठूलो जनताको रकम खर्च भयो तर नागरिकले सेवा पाउन सकेनन् ।’ उहाँले मितव्ययी ढंगले स्थानीय तहले प्राथमिकताको क्षेत्र निर्धारण गरेर खर्च गर्न नसकेको बताउनुहुन्छ ।
त्यसैगरी मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धमा विशेष दख्खल राख्ने प्राध्यापक विनोदखण्ड तिमिल्सिनाले स्थानीय तहको भूमिका कोरोना संक्रमण बढेसँगै झनै बढ्दै गएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘कोरोना नियन्त्रणमा मेयर भन्दा पनि वडा अध्यक्ष र टोलको अध्यक्षको भूमिका बढी हुन्छ । संघीय सरकारले धेरै बजेट स्थानीय तहलाई वितरण गर्नुपर्छ ।’ कोरोनाको परीक्षण रिपोर्ट आउनमा हुने ढिलासुस्ती भने उहाँलाई चित्तबुझेको छैन ।
अझै पनि कोरोना संक्रमण र महामारी फैलिँदै गएकोले प्राथमिकता क्षेत्रहरु निर्धारण गरी खर्च र जनशक्तिलाई सही ढंगले परिचालन गर्न नसके कोरोनाको लडाइमा नगरपालिकाहरु परास्त हुने बुद्धिजीवीहरुको राय छ । व्यक्तिगत सचेतना र सावधानीबाट नै कोरोनालाई परास्त गर्न सकिने भएकोले पनि धेरै भन्दा धेरै जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नमा पनि नगरपालिकाहरुको ध्यान जान जरुरी छ ।
























