Breaking News
नारायणगढमा प्रति कठ्ठा घडेरी झण्डै तीन करोडको सरकारी मूल्यांकन, २० करोड बढीमा किनबेच

चितवन, भदौं ७
चितवनका विभिन्न ठाउँमा शहरीकरण बढेसँगै जग्गाको मूल्य पनि दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना महामारीले भएको लकडाउन र निषेधाज्ञाले घर जग्गाको कारोबार खासै नभए पनि सरकारले गरेको न्यूनत्म मूल्यांकनमा काठमाडौँ र पोखरापछि भरतपुर जग्गाको कारोबारमा नेपालकै तेस्रो महंगो शहरको रुपमा चिनिएको छ ।
भरतपुर महानगरपालिकामा सरकारले तोकेको प्रति कट्ठा न्यूनतम मूल्य झण्डै तीन करोड रुपैयाँ छ। महानगरपालिकामा अहिले अधिकतम दुई करोड ८० लाख रुपैयाँसम्म न्यूनतम मूल्यांकन कायम गरिएको छ। महानगरपालिकामा महेन्द्र राजमार्गसँग जोडिएका लायन्स चोकदेखि सहिदचोक हुँदै नारायणी पुलसम्मका जग्गाको सरकारी मूल्य प्रतिकट्ठा २ करोड ८० लाख रुपैयाँ तोकिएको छ। भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा पनि सोही हाराहारीमा घडेरीको मूल्य तोकिएको छ ।
कोरोना महामारीका कारण अधिकांश मालपोत कार्यालयले गत आर्थिक वर्षकै न्यूनतम मूल्यांकन सदर गरेका छन्। चितवनमा पनि गत आवकै मूल्यांकन सदर गरिएको छ। अन्यथा चितवनमा यतिबेला सरकारी मूल्यांकन प्रतिकट्ठा तीन करोड रुपैयाँ पुगिसकेको हुन्थ्यो। मालपोत कार्यालय चितवनका प्रमुख गुरुप्रसाद पौडेलले नारायणी अनलाइलाई भन्नुभयो, ‘ जिल्लागत मूल्यांकन समितिले चितवनको जग्गाको न्यूनतम सरकारी मूल्यांकन निर्धारण गर्छ । कोरोना महामारीको कारणले जनतालाई मार पर्छ भनेर हामीले यसपटक चितवनमा पोहोर सालकै मूल्यांकन कायम गरेका छौं ।’ चितवनमा गत असार २६ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको मूल्यांकन समितिको बैठकले यस वर्षको जग्गाको न्यूनतम् मूल्यांकन दर निर्धारण गरेको थियो । मूल्यांकन तालिकाअनुसार सबैभन्दा महंगो जग्गा भरतपुरको नारायणगढ बजार क्षेत्रमा छ भने सबैभन्दा सस्तो जग्गा इच्छाकामना क्षेत्रमा रहेको छ । चितवनमा सबैभन्दा सस्तो जग्गा ४० हजार प्रति कठ्ठादेखि दुई करोड ८० लाखसम्म रहेको छ । सामान्यतया घरजग्गाको मूल्य निर्धारण पनि माग र आपूर्ति अनुसार नै हुने प्रमुख पौडेलले बताउनु भयो ।
नारायणगढको बजारी क्षेत्रमा प्रति कठ्ठा घडेरीको सरकारी मूल्यांकन दुई करोड ८० लाख भए पनि त्यहाँ जग्गाको कारोबार हातको एक करोड ३० लाखमा हुने गरेको छ । जसको आधारमा प्रति कठ्ठा घडेरीको मूल्य २० करोड भन्दा बढी पर्न आउँछ । गत वर्ष नारायणगढको पुलचोक नजिकै घडेरी त्यही मूल्यमा कारोबार भएको व्यवसायी बताउँछन् ।
चितवनका जग्गा व्यवसायी दिनेशकुमार चुकेले गत वर्ष पुलचोक नजिकै एउटा घडेरी २० करोडमा किनबेच भएको बताउनु भयो । उहाँले चितवनमा जग्गाको मूल्य नघटे पनि कारोबार भने लकडाउनले कम भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बैँकले हाउस लोनमा कारोबार केही खुकुलो बनाएकोले लकडाउनपछि केही कारोबार बढ्ला भन्ने हाम्रो आशा छ । सरकारले पनि राजस्व बढाउन घडेरीको कित्ताकाँट खुकुलो बनाउँछ भन्ने लाग्छ ।’
चितवनमा जग्गा वास्तविक किनबेचमा सरकारी मूल्यांकनभन्दा निकै बढीमा लेनदेन हुन्छ। किनबेचको दरभाउ मालपोतमा कम बताउँदा राजस्व थोरै तिर्ने सुविधा लिन कारोबारी चनाखो छन्। मालपोत कार्यालय चितवनका प्रमुख गुरुप्रसाद पौडेलले व्यक्तिले आफ्नो खुसीले किनबेच गर्ने भएकोले तोकिएको भन्दा जति बढी तिरे पनि खासै केही कारबाही नहुने बताउनुभयो । तोकिएको मूल्यको तुलनामा कारोबार धेरै बढीमा हुने गरेको उहाँको अनुभव छ ।
























