Breaking News
रत्ननगरको टिकौली क्षेत्र सिल, वडा कार्यालय पनि बन्द

चितवन, साउन ३१–
पूर्वीचितवनको रत्ननगर नगरपालिका–९ को टिकौली क्षेत्र सिल गरिएको छ ।
स्थानीय ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि आज (शनिबार) विहानदेखि सो क्षेत्र सिल गरिएको हो । वडा कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि टिकौली क्षेत्र सिल गरिएको जनाएको छ ।
वडाध्यक्ष रोशन आचार्यद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ–‘टिकौली चौकी टोलको सिँचाइ गेटदेखि पश्चिम देवकी पेट्रोल पम्प जंगलसम्म, खगेरी नहरदेखि उत्तरतर्फ राजमार्गसम्मको क्षेत्रलाई अत्यावश्यक काम बाहेक उक्त क्षेत्रलाई सिल गरिएको छ ।’
वडा कार्यालयले अर्को सूचना जारी नभएसम्म सो क्षेत्रका बासिन्दाहरुलाई कहि कतै हिडडुल र घर बाहिर नजान अनुरोध गरेको छ ।
यस्तै कोरोना जोखिम उच्च रहेकाले वडा कार्यालयको दैनिक प्रशासनिक कामकाज पनि अर्को सूचना जारी नहुन्जेल बन्द गरिएको वडाध्यक्ष आचार्यले जानकारी दिए ।
टिकौलीका कोरोना संक्रमित पुरुषको हाल भरतपुरको श्रीपुष्पाञ्जली हस्पिटलको आइसीयू कक्षमा उपचार भइरहेको छ । ती पुरुषको स्वास्थ्य अवस्था गरिम्भर तर स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
























