चितवन विशेष
चितवनको क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बिमा

चितवन,साउन १६-
चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको कोरोना बिमा गरिएको छ ।
अस्पताल सञ्चालक समितिको बैंठकले हरेक स्वास्थ्यकर्मी तथा कामदार कर्मचारीहरुले जनही एक लाख रुपैयाँ पाउने गरी कोरोना बिमा गर्ने निर्णय गरेको अस्पतालका उपकार्यकारी निर्देशक डा.कृष्णसागर शर्माले जानकारी दिनुभयो । अस्पतालले ६८६ जनाको प्रिमियर बिमा कम्पनीमा पठाएको छ । बिमा प्रिमियम पठाएको १५ दिनपछि कुनै स्वास्थ्यकर्मी वा कर्मचारीलाई कोरोना संक्रमण भएमा उसले एकलाख रुपैयाँ पाउनेछ ।
क्यान्सर अस्पताल कोरोनाको निकै जोखिममा रहेकोले स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको कोरोना बिमा गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिनुभयो ।अस्पतालमा हाल दैनिक ४५० जना भन्दा बढी बिरामी आउने गरेका छन् ।
‘क्यान्सर लागेका बिरामीले देशका विभिन्न जिल्लाबाट आउँछन्, कुनै ठाउँ वा जिल्ला कोरोनाको हट स्पट पनि बनेका छन्, बिरामी नल्याउने भन्ने कुरा भएन, ल्याउँदा कोरोना संक्रमण फैलिने डर पनि छ’ कार्यकारी निर्देशक डा. गौतमले भन्नुभयो ।
उनले ठूला अप्रेशन गर्नुपर्ने, ब्लड क्यान्सर भएका बिरामीलाई ज्वरो तथा कोरोनासम्बन्धी अन्य लक्षण देखिएका बिरामी तथा ट्राभल हिस्टी भएका बिरामीहरुको अनिवार्य कोरोना परीक्षणको व्यवस्था मिलाइएको बताउनुभयो ।
























