Breaking News
भरतपुरमा ३१६ ग्राहक कालोसूचीमा, लाइन काटेको ६ महिनामा पनि बक्यौता तिरेनन्

चितवन, साउन १४
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारबाही गरेको छ ।
लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको हो । लाइन काटेको छ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।
कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट १६ लाख २३ हजार १८८ रुपैयाँ र पहिलो चरणका २७० ग्राहकबाट ७२ लाख ५५ हजार ५२४ रुपैयाँ बक्यौता उठाउनुपर्ने हुन्छ । महतोले उनीहरुमध्ये ११ ग्राहकले कालोसूचीमा राखेपछि बक्यौता रकम तिरेका छन् । उनीहरुबाट सात लाख ९२ हजार २४४ रुपैयाँ असुली भएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा राखिएका ग्राहक नेपालको जुनसुकै स्थानमा गएर बसेको भए पनि उनीहरुको लाइन काट्ने र असुली गर्ने, बैंक वित्तीय संस्थालाई उनीहरुको विवरण जानकारी गराई सेवा रोक्नेलगायतका कामको प्रक्रिया सुरु गरिएको महतोले जानकारी दिनुभयो । कार्यालयले सोही समयमा एक हजार ६५३ को लाइन काटेको जनाएको छ । उनीहरुबाट दुई करोड ७९ लाख ५३ हजार ४३५ असुली हुनुपर्नेमा एक हजार १५० जनाबाट तीन करोड दुई लाख ३३ हजार १५८ रुपैयाँ असुली भएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन् । उनीहरुबाट वार्षिक १४ करोड ९७ लाख ६३ हजार ६६९ युनिट विद्युत् खपत हुने गरेको छ । भरतपुर महानगरमा ९८ प्रतिशत विद्युतीकरण भई सकेको छ भने इच्छाकामना गाउँपालिका–१ मा रहेका ७०० घरधुरी विद्युतीय सेवाबाट बञ्चित रहेको कार्यालयले जनाएको छ । विद्युतीकरण नभएका क्षेत्रका लागि पूर्ण विद्युतीकरणअन्तर्गत १६ करोड ६३ लाख २६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको र ठेक्काको काम सम्पन्न भई यही आर्थिक वर्षमा पूर्ण विद्युतीकरण गरिने महतोले जानकारी दिनुभयो । रासस
























