Breaking News
सचिवालय र संसदीय दलमा प्रधानमन्त्री ओलीको स्पष्ट बहुमत

चितवन, साउन १३-
नेकपाभित्रको विवाद चर्किएसँगै नाटकीयरुपमा पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन आएको छ । केही दिनसम्म सचिवालय र संसदीय दलमा अल्पमतमा पर्नुभएको प्रधानमन्त्री ओली अहिले दुवैतिर स्पष्ट बहुमतमा देखिनु भएको छ ।
यसैबीच पार्टीका प्रभावशाली नेता गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरेर ओलीको पक्षमा आफूलाई उभ्याएपछि नेकपाको सर्वोच्च निकाय सचिवालयमा पार्टी अध्यक्ष ओलीको स्पष्ट बहुमत देखिएको हो ।
गौतमसँगै नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले ओलीलाई साथ दिएका छन् । नौं सदस्यीय सचिवालयमा ओलीको पक्षमा ५ जना र प्रचण्डको पक्षमा ४ जना हुन पुगेको छ । स्रोतका अनुसार संसदीय दलमा पनि ओलीको पक्षमा स्पष्ट बहुमत छ । ‘सचिवालय र संसदीय दलमा ओलीको स्पष्ट बहुमत पुगेको छ, स्थायी कमिटीमा कस्तो समीकरण बन्छ एकदुई दिनमा स्पष्ट हुनेछ,’ स्रोतले भन्यो ।
मंगलबार बालुवाटारमा भएको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको भेलामा पूर्वमाओवादी खेमाका केही प्रभावशाली नेता नै अनुपस्थित रहेका छन् । स्रोतका अनुसार उक्त भेलामा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, उद्योग मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य लेखराज भट्ट र मणि थापालगायत अनुपस्थित थिए । नेकपा उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले पार्टी एकता जोगाउने हो भने स्थायी कमिटीको अलग बैठक बस्न नहुने धारणा राख्नु भएको छ । मंगलबार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको भेलामा बोल्दै उपाध्यक्ष गौतमले उक्त धारणा व्यक्त गर्नुभएको हो । भेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेताहरू अनुपस्थित थिए ।























