Breaking News

रत्ननगरमा लिफ्टसहितको नमुना आकाशे पुल बन्दै, दसैँअघि सञ्चालनमा आउने

Banner

चितवन, साउन १०-

पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिकाको टाँडीचोकमा निर्माणाधीन अपाङ्गमैत्री आकाशे पुलको काम तीव्ररुपमा भइरहेको छ ।
लिफ्टसहितको सो आकाशे पुलको ७५ प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिकाले गौरवको आयोजनाअन्तर्गत प्रविधि जडान गरेर चितवनमै पहिलो पटक आकाशे पुलको निर्माण थालेको हो । रत्ननगरले लिफ्टसहितको सो आकाशे पुललाई नेपालकै पहिलो नमुना आकाशे पुल भनेको छ ।

पुलको काम ७५ प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । स्टिल स्टक्चरबाट निर्माण गरिने भएकाले अबको डेढ महिना भित्र पुल निर्माणको काम सकिने नगरपालिकाका इञ्जिनियर पंकज गिरीले जानकारी दिए । दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । राजमार्गको उत्तरतर्फ नेपाल मावि रोड र दक्षिण तर्फ सिनेमाहल रोड तर्फबाट आवतजावत गर्न मिल्ने गरी पुल निर्माण गरिएको छ । आकाशे पुल ४० मिटर लम्बाई र साढे ५ मिटर उचाइमा बनेको छ ।  प्रदेश सरकारको एक करोड र रत्ननगर नगरपालिकाको एक करोड ४२ लाख गरी २ करोड ४२ लाख रुपैयाँको लगानीमा रत्ननगरमा आकाशे पुल निर्माण भइरहेको छ ।

हिम सगरमाथा कस्न्ट्रक्सन प्रालिले पुल निर्माणको काम गरेको छ । रत्ननगर नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण र टाँडी बजारलाई सुन्दरता प्रदान गर्न नगर प्रमुख नारायण वनको विशेष पहलमा यहाँ आकाशे पुल निर्माण सुरु भएको हो । अपाङ्गता भएका व्यक्तिलाई पनि आवतजावतमा सहज होस् भनेर रत्ननगरले नेपालमै पहिलो पटक आकाशे पुलमा लिफ्ट राख्न थालेको हो । नगरपालिकाले छुट्टै लगानी गरेर लिफ्ट तयार गर्ने योजना बनाएको छ । पुल निर्माण स्थलमा बिजुलीको पोल भूमिगत गर्ने योजना रहेको छ । नेपाल विद्युत प्राधिकरणले पूर्व तर्फ १०० मिटर र पश्चिम तर्फ १०० मिटर बिजुलीको पोल भूमिगत गर्ने काम सुरु भएको छ ।

हाम्रो नगरपालिका शहरीकरण तर्फ उन्मुख छ नगर प्रमुख वनले भने, ‘शहरीकरणको अनुभूति नगरबासीलाई दिलाउन आकासे पुल निर्माण सुरु गरेको हँु ।’ मेयर वनले रत्ननगरको अस्पतालको स्तरोन्नती, सौराहामा सिटीहल र टाँडी बजारमा आकाशे पुल निर्माण गर्ने आफ्नो योजना सफलता तर्फ उन्मुख भइरहेको बताए । आकाशे पुल समयमै निर्माण सम्पन्न गर्नका लागि उपमेयर विमला दुवाडी, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, प्रवक्ता राजेन्द्र हमालले लगायतका जनप्रतिनिधिहरु लागि परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>