अन्तर्राष्ट्रिय
भारतमा एकैदिनमा ४९ हजार कोरोना संक्रमित

नयाँदिल्ली, साउन १०-
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।
प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार संक्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना संक्रमित भएका छन् । (रासस\एएनआई)

























