Breaking News

सरकारका काम कारवाही पारदर्शी र प्रतिस्पर्धी हुन्छ : मन्त्री खतिवडा

Banner

काठमाडौँ, साउन १-

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारका काम कारवाही पारदर्शी र प्रतिस्पर्धी हुने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यका साथै वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्यायोजना सार्वजनिक गर्दै उहाँले भन्नुभयो “हाम्रा कारवाहीहरु पारदर्शी हुन्छन्, हाम्रा खरिदहरु प्रतिस्पर्धी हुन्छन् । हामीले गर्ने कामहरु विधिसम्मत र नियमसम्मत हुन्छन् ।”

उहाँले सञ्चार मन्त्रालयअन्तर्गतका केही काम कारवाहीहरु विगतमा विवादमा आएको भए पनि आगामी दिनमा सबै काम कारवाही पारदर्शी र प्रतिस्धर्पी हुने विश्वास दिलाउनुभयो ।

कर्मचारीतन्त्र र राष्ट्र सेवकहरु सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गराउने मूल खम्बा रहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले राजनीतिक व्यक्तित्वले सामान्य निर्देशन दिने भएकाले त्यसलाई विधि, कानून र निमयमा रहेर कार्यान्वयन दायित्व कर्मचारीको रहेको बताउनुभयो । राजनीतिक नेतृत्वले गलत निर्देशन दिन नहुने र त्यस्तो अवस्था आए कर्मचारीतन्त्रले समेत कार्यान्वयन गर्नु आवश्यक नहुने उहाँको भनाइ थियो ।

सञ्चार मन्त्रालयलाई सबैभन्दा राम्रो साख भएको मन्त्रालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो “२१औँ शताब्दीको सञ्चार र सूचना प्रविधिमा भइरहेको परिवर्तनलाई स्वीकारेर त्यो अनुसारको पूर्वाधार, जनशक्ति र प्रशासकीय तयारी गर्नु जरुरी छ ।”

सरकारको कार्यक्रम कार्यान्वयन गरेर सञ्चार मन्त्रालय पहिलो नम्बरमा पुग्न शुभकामना दिनुहुँदै मन्त्री डा खतिवडाले भन्नुभयो “राम्रो काम गर्नका लागि हौसला दिन चाहन्छु । हाम्रा वार्षिक कार्ययोजना छाप्न र दराजमा थन्क्याउनका लागि मात्रै होइन । कार्यान्वयनका लागि हुन् ।”

मन्त्री डा खतिवडाले आफ्ना काम कारवाहीको नियमित अनुगमन र समीक्षा हुनुपर्ने स्पष्ट पार्दै साप्ताहिक रुपमा आफ्नै कार्यालय भित्र, मासिक रुपमा मन्त्रालयमा, द्वैमासिक औपचारिक रुपमा मन्त्रालयमै छलफल गर्ने र चौमासिक रुपमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लगेर समाधान गर्ने तवरले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समस्या के हो ? र समाधानका उपाय पनि के हुन् भन्ने तरिकाले आउनुपर्छ । समस्या मात्रै लिएर आयो भने नतिजा निस्कँदैन ।”

उहाँले सञ्चार तथा सूचना प्रविधिसँग जोडिएको मन्त्रालय भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा हाम्रा सरोकार सर्वाधिक चासोको विषय बन्ने स्पष्ट पार्नुभयो । सरकारले डिजिटल नेपाल फ्रेमवर्कको नारासमेत कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उहाँले त्यो अर्थतन्त्रमा मात्रै नभई शासकीय विषयलाई समेत समेटिएको बताउनुभयो । डिटिजल नेपालका लागि पूर्वाधार पहिलो शर्त भएको भन्दै उहाँले जनशक्तिको विकास गर्दै सञ्चार क्षेत्रलाई प्रतिस्पर्धी बनाउने क्रमिक दायित्वलाई पूरा गरिने उल्लेख गर्नुभयो ।

कार्ययोजनामा नपरेका र दैनिक समस्यालाई हल गरेर जाने भन्दै उहाँले कार्यसम्पादन करार सम्झौतासमेत छिट्टै अगाडि बढ्ने जानकारी दिनुभयो । मन्त्री डा खतिवडाले आफ्नो मूल्याङ्कन आफैँ गर्ने गरी प्रणालीको विकास गर्नसमेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “दिनभरी कार्यालयमा बसेर इन्टरनेटमा मात्रै खेलेर बेलुका घर जाँदा आज मैले तलब खाए बराबर के काम गरे भनेर आफ्नो मूल्याङ्कन गर्ने हो भने त्योभन्दा राम्रो मूल्याङ्कन अरु केही हुन सक्दैन ।”

उहाँले आफ्नो कार्यकालमा मात्रै नभई भविष्यमा पेन्सनसमेत लिने अवस्थामा समेत सन्तोषका साथ रहने वातावरण बनाउनुपर्ने बताउनुभयो । मन्त्री डा खतिवडाले भन्नुभयो “भोलि पेन्सन खाइरहँदा मै के काम गरेछु र पेन्सन खान पाएछु भन्दा सन्तोषले मैले राष्ट्रका लागि यति सेवा गरे । त्यसबापत मलाई राष्ट्रले सम्झेको छ भन्न पाइयोस् न ।” उहाँले आफैँले आफैँलाई मूल्याङ्कन गरेर कमजोरी भएको विषयलाई आत्मसात् गरेर अगाडि बढ्दा त्यसले सर्वोपरी हित गर्ने र सोही दिशामा केन्द्रित हुनसमेत आग्रह गर्नुभयो ।

मन्त्री डा खतिवडाले आफ्नो तल र माथि दुवैतर्फ जिम्मेवारी भएकाले इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै कार्यसम्पादन अनुसारको भूमिका निर्वाह गर्न सबैलाई ध्यानाकर्षण गराउनुभयो । चालु आवको नीति तथा कार्यक्रममा मन्त्रालयका नौ र बजेटमा १० वटा महत्वपूर्ण विषय समेटिएका छन् ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव गोकर्णमणि दुवाडीले इमान्दार भएर सरकारको लक्ष्य अनुसारको कार्यसम्पादन गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनालाई इमान्दार भएर कार्यान्वयन गर्नसमेत आग्रह गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>