खैरहनी
खैरहनीमा १८ प्रतिशत बढी राजस्व असुली

चितवन, साउन १
लकडाउनले आर्थिक क्षेत्रमा असर परे पनि चितवनको खैरहनी नगरपालिकाको राजस्व संकलनमा भने प्रभाव परेन ।
राजस्व संकलनमा अव्बल बन्दै गएको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०६६\७७ मा १० करोड बढी राजस्व संकलन गरेको छ । यसमा लागत सहभागिता जोडिएको छैन । लागत सहभागीतासहित गत आर्थिक वर्षमा १४ करोड २९ लाख २० हजार रुपैयाँ संकलन गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । गत आर्थिक वर्षमा तीन करोड ३६ लाख रुपैयाँ लागत सहभागिताबाट जुटेको थियो । गत आर्थिक वर्षमा खैरहनीले ९ करोड २५ लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा झण्डै १८ प्रतिशत बढी रकम संकलन गरेको नगरपालिका प्रमुख चौधरीले बताए ।
आर्थिक वर्ष २०७७\७८ मा खैरहनी नगरपालिकाले १० करोड ११ लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने अनुमान गरेको छ । आर्थिक वर्ष २०७६\७७ मा सबैभन्दा बढी घरजग्गा रजिष्ट्रेशनबाट ६ करोड १५ लाख ३२ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै एकीकृत सम्पती करबाट एक करोड ६८ लाख ४३ हजार,व् यवसाय रजिष्ट्रेशन दस्तुर मार्फत ६८ लाख ५० हजार, घरवहाल कर मार्फत ४८ लाख, अन्य दस्तुरबाट ४० लाख ५८ हजार, सिफारिस दस्तुरबाट ३६ लाख २७ हजार रुपैयाँ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले बताए ।
यसैगरी नक्सापास दस्तुरबाट ३२ लाख, भूमिकर\मालपोत मार्फत् १५ लाख ९१ हजार, प्राकृतिक स्रोतको बाँडफाँडबाट १० लाख २९ हजार रुपैयाँ,नाता प्रमाणित दस्तुर मार्फत सात लाख ३० हजार, बहाल विटौरी कर मार्फत सात लाख १८ हजार रुपैयाँ संकलन भएको छ । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले आन्तरिक स्रोतमा अव्बल बन्दै जानु नगर समृद्धिकोे आधार रहेको बताइन् । जनप्रतिनिधि निर्वाचित भएको वर्ष तीन करोड संकलन गर्ने लक्ष्य लिइएकोमा तीन वर्षको अवधिमा सात करोड बढी राजस्व संकलन भएको उपप्रमुख थपलियाले बताइन् ।


























