समाचार
प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि बाबुराम भट्टराईको ट्वीट : हटाउने उचित बेला कहिले त?

काठमाडौं, असार १४-
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा प्रधानमन्त्री ओलीले चिन्ता लिएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित एक कार्यक्रममा आफूलाई हटाउन दिल्ली र देशभित्रकै शक्ति लागिपरेको भन्ने धारणा व्यक्त गरेका थिए ।
ओलीको भनाईप्रति सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा प्रधानमन्त्री ओलीले चिन्ता लिएको बताए।
ट्वीटमा उनले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन, तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने? पछि बाढीपहिरो आएको बेला हुने? अलिपछि दशैँ तिहारको बेला हुने? अनि जाडोको बेला हुने? उचित बेला चैं कैले रच हँ?’
आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेकै कारण पदबाट हटाउने खेल सुरु भएको गुनासो गरेका थिए।




























