अन्तर्राष्ट्रिय
अल सबाबका कमाण्डर नेपाली नागरिक सोमालियामा मारिए

काठमाडौं, असार १४-
सोमालियाका सुरक्षा फौजले मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई मारेका छन् ।
सोमालियाको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ।
मारिएका हमदान नेपालबाट गएको त्यहाँको मिडियाहरुले उल्लेख गरेका छन् । उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए। हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ। रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।
हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन्। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन्। सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ। त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन।



























