समाचार
२४ घण्टा पनि टिकेन रामदेवको कोरोना निको पार्ने दाबी !

काठमाडौं, असार ९-
भारतको आयुष मन्त्रालयले योगा गुरु रामदेवको कम्पनी पतन्जलिलाई कोरोनाको औषधि पत्ता लगाएको भन्ने प्रचारप्रसार बन्द गर्न निर्देशन दिएको छ।
भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ । भारत सरकारले आज उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो ।
मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’
सो मन्त्रालयले उत्तराखण्ड प्रदेश सरकारलाई पनि पतन्जलिलाई कोरोनिल उत्पादन गर्न दिइएको लाइसेन्सको प्रति र अन्य विवरण उपलब्ध गराउन भनेको छ।
पतन्जलिको मुख्य कार्यालय उत्तराखण्ड प्रदेशको हरिद्वारमा रहेको छ।



























