समाचार
नागरिकताबारे नेकपाको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी : उपेन्द्र यादव

काठमाडौं, असार ७-
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकतासम्बन्धी गरेको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी रहेको टिप्पणी गरेका छन् ।
शनिबार नेकपाले नेपाली पुरुषसँग विवाह गरेर आउने अन्य देशका महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो।
आइतबार नेकपाको निर्णयमाथि प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नेकपाको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी भएको प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष यादवले नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाईबीच असमानता र विभेद हुन नहुने बताए।
‘कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, सम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष यादवले ट्विट गरेका छन्, ‘नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाईबीच असमानता र विभेद हुनुहुहुन्न।’
जनता समाजवादी पार्टी नेपाल र काँग्रेसले नागरिकताको विषयमा हाल रहेको प्रावधानलाई यथावत राख्नु पर्ने धारणा राख्दै आएको छ । नेकपाले गरेको निर्णयबारे छलफल गर्न आज पदाधिकारीको बैठक बस्दैछ । काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि नेकपाले गरेको निर्णयलाई काँग्रेसले स्वीकार नगर्ने बताए ।



























