Breaking News
भरतपुर महानगरपालिकामा पुनर्निर्माणको काम तिब्र, ५ सय २३ घर निर्माण सम्पन्न

चितवन,असार १-
भरतपुर महानगरपालिकाले पुनर्निर्माणको कामलाई तिब्रता दिएको छ । तोकिएको अवधिमा पुनर्निर्माणको काम सक्नेगरी लकडाउनमा पनि कामलाई निरन्तरता दिएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ ।
‘देशमा कोरोना महामारीबाट देश पुरै ठप्प अवस्थामा थियो । अतिआवश्यक बाहेक धेरै कार्यालयहरुमा काम बन्द थिए ।,’ भरतपुर महानगरपालिकाका पुनर्निर्माण शाखाका फोकल इन्जिनियर विजयराज न्यौपानेले भन्नुभयो, ‘हामीले यस्तो प्रतिकुल समयमा पनि भरतपुर महानगरको बिकाश निर्माणका कामका साथै पुनर्निर्माणका कामलाई समेत तिब्र गतिमा अघि बढाइरहेका छौँ ।’ केही महिनाभित्र काम सम्पन्न गर्ने योजना गरेको न्यौपानेले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका भित्र २०७२ सालको भुकम्पले गुम्बा, मठ–मन्दिर विद्यालय, स्वास्थ्य चौकी र निजि आवास सहितका सार्वजनिक संरचनामा समेत क्षति पुर्याएको थियो । त्यसमध्ये निजि आवास तर्फ ८७ प्रतिशतले डि.पि.सि. तह पुरा गरेर पहिलो किस्ताको रकम लगिसकेको छन् । भरतपुर महानगरपालिका भित्र भुकम्पले ७ सय ६४ निजि आवासमा क्षति पुर्याएको थियो । त्यसमध्ये ९१ जना लाभग्राहीको सम्झौताको चरणमा रहेको न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार, ५ सय २३ घर निर्माण भैसकेका छन् । घर निर्माण पुरा भइसकेपनि ४ सय ८२ जनाले तेस्रो किस्ता प्राप्त गरिसकेको र अन्य लिने क्रममा रहेका उहाँले जानकारी दिनुभयो ।
चितवनमा भुकम्पका कारण ६१ विद्यालय, ३ स्वास्थ्य चौकी, र २६ वटा गुम्बामा क्षति पुगेको थियो । त्यसमध्ये सार्बजनिक संरचना पुनर्निर्माण तर्फ हालसम्म २८ वटा बिद्यालय निर्माण सम्पन्न भैसकेका छन । ३३ वटा बिद्यालय निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा पटिहानी आयुर्वेद औषधालय निर्माण सम्पन्न भैसकेको छ भने अन्य २ वटा स्वास्थ्य चौकी निर्माण हुने चरणमा छन् । त्यस्तै २३ वटा आंशिक क्षति भएका गुम्बाहरु मर्मत हुने क्रममा छन् ।
यसैविच महानगरपालिकामा प्रवलिकरणतर्फ कुल १०१ लाभग्राही रहेकोमा हालसम्म ८३ जनाले पहिलो किस्ता, ६ जनाले दोस्रो किस्ता लिएका छन् । भरतपुर महानगरपालिकामा २०७२ को महाभूकम्प पश्चात निजि आवास, मठ–मन्दिर, गुम्बा, स्वास्थ्य चौकी, सडक एबं अन्य थुप्रै संरचनाहरुमा क्षति पुगेको थियो । निजि आवास तर्फ पहिलो सर्वेक्षणबाट ७ सय ११ र ०७५÷०७६ को पुनःसर्वेक्षणबाट ५३ जना थप सहित कुल ७ सय६४ लाभग्राही थिए ।
ठुलो भूगोल, नक्सा पासको समस्या, ऐलानी जग्गा, सडक मापदण्ड लगायतले गर्दा पुनर्निर्माणमा केहि समय अन्यौलता थपेको कारण पुनर्निर्माणका सुरुवाति बर्ष कामले तिब्रता पाउन नसकेको उहाँले बताउनुभयो । ‘भरतपुर महानगरपालिकामा २०७४ साल पौष पछी मात्र प्राविधिकहरु फिल्डमा खटिएको थिए । घरहरु त्यो भन्दा अघिनै मापदण्ड बिना बन्दा पुनर्निमाणमा केही चुनौती थपियो ।’ उहाँले भन्नुभयो, ‘ पछि मेयरको अध्यक्षतामा बनेको पुनर्निर्माण समन्वय समितिले पुनर्निनिर्माणमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने निर्णय गरेपछि पुर्नर्निर्माणको कामले तिब्रता पाएको छ ।’ महानगरपालिकाले नक्सा पास राजश्वमा समेत छुट दिने गरेको छ ।
पुनर्निर्माण समन्वय समितिले पुनर्निर्माणका क्रममा आइपरेका विभिन्न समस्याहरुलाई समाधान गर्नेगरी काम अगाडी बढाएको छ । लकडाउनका कारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक बर्ष म्याद थप गरेको छ । सो समय भन्दा अगाडी नै सक्ने गरि काम अगाडी बढाईएको छ ।
‘भरतपुर महानगरको पुनर्निर्माण कार्य यसै आर्थिक वर्षमा सक्ने गरि कार्य गरिरहँदा अचानक निर्माणको समयमा नै यो महामारीले केही प्रभाव पारेको छ ।’ उहाँले भन्नुभयो, ‘अबको केहि महिनामै पुनर्निर्माण कार्य सम्पन्न गर्ने रणनीति सहित हामीले काम अघि बढाएका छौँ ।’
























