चितवन विशेष
कोरोनासँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने भन्दै नारायणगढ र गैँडोकाटमा होमियोप्याथी औषधि वितरण

चितवन, जेठ २९-
चितवनको नारायणगढ र गैँडाकोटमा कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथी औषधि निःशुल्क वितरण सुरु गरिएको छ ।
मारवाडी सेवा समिति चितवले सो औषधि बाँडेको हो । औषधि बाड्नमा चितवनका अग्रज व्यवसायी उमाशंकर अग्रवाल सक्रिय छन् । औषधिको कुनै साइडइफेक्ट वा नकारात्मक असर नगर्ने मारवाडी सेवा समितिको दाबी छ । काठमाडौँ उपत्यकामा पनि विभिन्न सञ्चारमाध्यम, स्वास्थ्य मन्त्रालय, महानगर तथा नगरपालिकाका कर्मचारी, जोखिम क्षेत्रमा रहेका स्थानीयवासी, नेपाल पत्रकार महासङ्घ, अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारणलाई विभिन्न संस्थाले यो औषधि निःशुल्क वितरण गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले गत वैशाख १७ गते कोभिड–१९ को रोकथामका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पद्धतिसम्बन्धी मापदण्ड ल्याएपछि एक महिनामा १२ गोली खानुपर्ने सो औषधि वितरण सुरु गरिएको मारवाडी सेवा समितिले जनाएको छ ।
काठमाडौँका होमियोप्याथिक चिकित्सिक डा अम्बिकाप्रसाद ज्ञवाली १७९६ मा जर्मनका डा साउमा हाइमनले पूर्वीय दर्शनमा आधारित प्राकृतिक औषधिको रुपमा यसको विकास गरेको बताउँदै होमियोप्याथीले रोगको किटाणु लाग्नै नदिने र लागेकालाई पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी निको पार्ने दाबी गरे। विश्वमा २२५ वर्षदेखि र नेपालमा विसं २००७ मा सुरु भएको यो उपचार अहिले १८० देशमा सञ्चालन भइरहेको उनले बताए। होमियोप्याथी औषधि स्पेनिस फ्लूमा ९८, लण्डनमा टाइफस फिबरमा ९२ प्रतिशत सफल भएको उनको दाबी छ ।
























