राजनीति
अमेरिकामा प्रहरी ज्यादतीको अर्को डरलाग्दो घटना सार्वजनिक, दुई प्रहरी निलम्बित

काठमाडौँ, जेठ २३–
अमेरिकाको पश्चिम न्यूर्योकमा बफेलो शहरमा दुई प्रहरी अधिकारीले ७५ वर्षका एक वृद्धलाई धकेलेर लडाएको भिडियो भाइरल भएको छ ।
जर्ज फ्लोइडको हत्याको विरोध तथा न्यायको माग गर्दै भएको प्रदर्शन नियन्त्रणका लागि न्यूर्योकको दोस्रो ठूलो शहर बफेलोमा कर्फ्यू जारी गरिएको थियो । स्थानीय समय अनुसार बिहीबार राति ८ बजेपछि कर्फ्यू कार्यान्वयनका लागि खटिएका अस्त्र युक्त दुई प्रहरीले ७५ वर्षका वृद्धलाई धकेलेर लडाएका हुन् ।
लडेका ती वृद्धको टाउको गम्भीर चोट लाग्यो । रगत बग्यो, उनी बेहोस भए । धकेल्ने प्रहरी अघि बढे । अरु सुरक्षाकर्मी आएर उनलाई उठाए ।
ती वृद्धको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।
बफेलो शहरका मेयर बायरन ब्राउनले वक्तव्य जारी गरेर घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै ती वृद्धलाई धकेल्ने दुई प्रहरी अधिकारीलाई निलम्बित गरिएको जानकारी दिएका छन् ।
न्यूर्योक राज्यका गभर्नर एन्ड्रयू कुओमोले घटनाको गम्भीर निन्दा गर्दै बफेलोमा भएको घटना पूर्णरुपमा अनुचित र अपमानजनक रहेको बताएका छन् ।



























